गठबन्धनका दु:ख : आफ्नो उम्मेदवार नभएपछि रुपन्देही-२ मा जनमुक्ति पार्टीलाई सघाउने



बुटवल।

रुपन्देही–२ मा सत्ता गठबन्धनले नेकपा एमालेका विष्णु पौडेलका विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापालाई अघि सार्ने भएको छ ।
यसअघि गठबन्धनबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै गठबन्धनले विकल्पका रुपमा केशवलाई अघि सार्ने निर्णय गरेको हो ।

गुरुङको कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले असोज २५ गते उम्मेद्वारी खारेज गरेको थियो । आयोगले उम्मेद्वारी खारेजपछि गुरुङ सर्वोच्च अदालत पुग्नुभएको थियो ।

सर्वोच्चले ३० गते अल्पकालिन अन्तरी आदेश जारी गर्दै उम्मेद्वारी कायम गरेपनि गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले निर्वाचन आयोेगको निर्णय सदर गरेपछि सत्तागठबन्धनले विकल्प खोजेका थियो ।

रुपन्देहीमा विभिन्न चरणमा भएको छलफलपछि केन्द्रीय तहबाट जनमुक्ति पार्टीका उम्मेद्वारलाई सघाउने गरी निर्णय भएको छ ।

आज नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरि जनमुक्ति पार्टीका थापालाई गठबन्धनले साझा उम्मेद्वारका रुपमा समर्थन गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका विरुद्ध उम्मेद्वार नभएको भन्दै चर्चा भइरहेको बेला गठबन्धनले थापालाई समर्थन गर्ने निर्णयसँगै रुपन्देही २ मा फेरी चुनावी माहोल तात्ने भएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत रहेका केशवले एक्लै लड्न तयार भएर मैदान ओर्लेका बेला पाँच दलको समेत समर्थन हुने भएपछि जित निकाल्न सहज हुने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्