नेपाल संवत् र कीर्तिपुर नगरपालिकाको नमुना अभियान



सुजिन्द्र महर्जन

नेपाल संवत्को सुरुवात इ.सं. ८७९ अक्टोबर २०, विक्रम संवत् ९३६ कार्तिक शुक्ल प्रतिपदाका दिनबाट भएको हो । नेपाल सरकारले यसलाई राष्ट्रिय संवत्को मान्यता पनि दिसकेको छ । यसको प्रचलनमा ललितपुर महानगरपालिकासहित उपत्यकाका स्थानीय तहहरूको भूमिका अग्र स्थानमा रहेको छ ।

चन्द्रमानक नेपाल संवत्को नयाँ वर्ष म्हःपूजा पर्वबाट शुरू हुन्छ । यस दिनमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसी आफ्नो तनमनको स्वास्थ्य तथा दीर्घायुको कामनासहित आफ्नो पूजा आफैंले गर्ने चाडका रूपमा लिईन्छ । यो दिन आआफ्नो समुदाय र क्षेत्रमा भिन्तुना वा शुभकामना ¥यालि पनि आयोजना हुने गर्दछ । चन्द्रमानक नेपाल संवत्मा प्रत्येक वर्ष ३५४ देखि ३७८ दिनसम्म हुन्छ भने एक औंशीदेखि अर्को औंशीसम्मको समयावधिलाई एक महिना मानिन्छ ।

ऋणमा डुबेका जनताको ऋण मोचन गरी आर्थिक दासताको जञ्जीरबाट मुक्त गर्ने तथ्यसँग नेपाल संवत् सुरुवातको इतिहास जोडिएको छ । यसका प्रवर्तक कुनै शासक वा राजा महाराजा नभई शंखधर शाख्वा सामान्य जनता हुन् । समुदाय स्तरबाट नै यसको पहलकदमी लिइएका कारण पनि यसको महत्व बेग्लै रहेको छ । त्यसमाथि देशको नामबाट राखिएको कारण पनि यसको महत्व अझ बढ्न गएको छ ।

नेपाल संवत्को पहिलो दिनमा मनाइने म्हःपूजासहितको स्वन्ति नखः वा तिहार पारिवारिक जमघट र चेलिबेटी वा दिदीबहिनीसँग सम्बन्ध सुमधुर बनाउने चाडका रूपमा समेत स्थापित भएको छ । नेपालमा सांस्कृतिक पर्यटकीय उपजको प्रसंग उठ्नेबित्तिकै नेवाः संस्कृतिको प्रसंग अगाडि आउँछ । पछिल्लो समयमा यसको संरक्षण र प्रवर्धनको विषयलाई स्थानीय सरकारहरूले जोडतोडका साथ उठाउने गरेका छन् ।

संस्कृति संरक्षण र प्रवर्धनलाई सम्बन्धित समुदायको आर्थिक विकाससँग गाँसेर हेर्न पर्ने अपरिहार्य आवश्यकतालाई सबैले महसुस गर्न थालेका छन् । यसमा सम्बन्धित समुदायलाई नै जिम्मेवार बनाउने वैधानिक पृष्ठभूमि तयार पार्ने कार्यको महत्वलाई सबैले स्विकारेको छ । तर यसलाई व्यवहारमा कसरी उतार्ने भन्ने विषयमा चाहिँ ७५३ स्थानीय सरकारहरू अगाडि बढ्न सकेका छैनन् । यस सन्दर्भमा कीर्तिपुर नगरपालिकाले यस क्षेत्रमा चालेको पाइला तथा आत्मसात गरेको योजना अन्य स्थानीय सरकारहरूका लागि समेत उदाहरण हुन सक्दछ ।

नेपाल संवत् र यसको प्रारम्भसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष भनेको सांस्कृतिक पाटो पनि हो । जनताको सुस्वास्थ तथा समृद्धिसँग यसको अन्योन्याश्रित सम्वन्ध छ । यसै भावनालाई समेटेर कीर्तिपुर नगरपालिकाअन्तर्गत सांस्कृतिक संरक्षित क्षेत्रभित्रका सांस्कृतिक सम्पदा, गुथि, मातृभाषा (नेपाल भाषा), प्राचीन पुराना वस्ती संरक्षण, सांस्कृतिक र भूमि संरक्षणमा नगरपालिका अग्रसर भएको छ । नगर क्षेत्रको सांस्कृतिक जीवनको उत्थान गर्न यस क्षेत्रका समुदायको चाहना र कीर्तिपुर नगरपालिकाको कर्तव्य समेत रहेको छ ।

यसै जिम्मेवारीलाई पूरा गर्न गराउन वैधानिक संस्था आवश्यक रहेको ठम्याइका आधारमा २०७८ असार ३ गते कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८ ल्यायो । यससँगै संरक्षित क्षेत्रका खलः पुचः तथा गुथिका संस्कृतिकर्मी तथा अभियन्ताहरूले उपलब्धिको श्वास फेरे । तर, ऐनले तय गरेका उद्देश्य पूरा गर्न धेरै कुराहरू स्पष्ट हुन बाँकी रहेको सन्दर्भमा सम्बन्धित अभियन्ताहरूको समेत सहयोगमा ऐन कार्यान्वयनका लागि ऐनको अभीष्ट पूरा गर्ने नियमावली मस्यौदा तयार गरी नगरपालिकामा हस्तान्तरण पनि भइसकेको छ ।

नेपालको संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ तथा धारा २२६ को उपधारा १ तथा अनुसूची ८ को बुँदा २२ का अनुसार स्थानीय तहहरूले सांस्कृतिक वा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्ने गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९ ले दिएको अधिकार प्रयोग गरी कीर्तिपुर नगरपालिकाले नयाँ अभ्यासको थालनी गरेको छ । सांस्कृतिक संरक्षण र पर्यटकीय विकासका लागि समुदायलाई वैधानिक अधिकार तथा जिम्मेवारी सुम्पने कार्यको पर्याय अब कीर्तिपुर बन्नेछ । प्रथाजन्य खलः पुचः तथा गुठीहरूको क्रियाशिलता बढाई ऐन बमोजिम सत्प्रयास भएमा यसले कीर्तिपुर नगरको एउटा नयाँ पहिचान स्थापित हुने अपेक्षा गर्न सकिन्छ ।

कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र

कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८ ले समग्र कीर्तिपुर नगरलाई सांस्कृतिक महत्व तथा भूगोलका आधारमा ६ वटा क्षेत्रमा विभाजन गरी त्यसलाई संरक्षित क्षेत्र तोकेको छ । यसमा कीर्तिपुर–किपु, पाँगा, चोभार–च्वबहाः, नगाउँ–नगाँ, गाम्चा र भाजंगल–भाजंगः बस्ती रहेका छन् । वडागत हिसाबवाट यसमा नगरपालिकाभित्रका १० वटा वडामध्ये सबै वडाका केही न केही भाग समेटिएका छन् । ऐनमा समिति एवं परिषद् गठनका लागि ४० प्रतिशत महिला प्रतिनिधिको प्रतिनिधित्व हुने गरी सम्ब्न्धित भूगोलको साँस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न खलः, पुचः, गुठीलगायतका प्रथाजन्य संघ, संस्थाबट निर्वाचित हुने प्रबन्ध गरिएको छ ।
क) धिमे खलः
ख) दाफा खलः
ग) धाः खलः
घ) बाँसुरी खलः, भजन खलः तथा परम्परागत बाजा खलः
ङ) काहाः खलः
च) नायः खिं बाजा खलः
छ) परम्परागत गुथि तथा पुजारीहरूको समेत प्रतिनिधित्व भएको मन्दिर व्यवस्थापन समिति
ज ) धार्मिक तथा सना वा सि गुथिहरू
झ ) जात्रा, पर्व व्यवस्थापनसंग सम्वन्धीत गुठीहरू
ञ) अन्य परम्परागत बाजा खलःका प्रतिनिधिहरू
कीर्तिपुर नगरको स्थानीय सरकारले जारी गरेको उक्त ऐनबमोजिम कार्य अगाडि बढेमा सांस्कृतिक संरक्षित क्षेत्रको विकास र प्रवर्धनमा सम्बन्धित समिति तथा परिषद्ले निम्नानुसारका कार्यहरू सम्पादन गर्ने अपेक्षा गरिएको छ ।
१) कीर्तिपुर नगरभित्रका संरक्षित क्षेत्रका मूर्त तथा अमूर्त सम्पदाको सूचीकरण र त्यसको वैज्ञानिक अभिलेखीकरण ।
२) कीर्तिपुर नगरपालिकाको नीति तथा कार्यक्रमबमोजिम संरक्षित क्षेत्रका सम्पदाको संरक्षण तथा प्रवर्धन तथा प्रचार प्रसार ।
३) संरक्षित क्षेत्रका सम्पदालाई पर्यटन प्रवर्धनसँग जोडेर सम्बन्धित खलः, पुचः, गुठीलगायतका प्रथाजन्य संघ, संस्थाहरू र त्यसमा आवद्ध सम्पदा उत्थान, प्रवर्धनमा संलग्न सदस्यको आर्थिक विकास ।
४) कीर्तिपुर नगरपालिकाको सम्पदा तथा बस्ती विकास सम्बन्धित विभिन्न स्थानीय कानुन तथा मापदण्ड कार्यान्वयनमा सहजीकरण ।
५) मूर्त तथा अमूर्तलगायतका सम्पदा, सम्पदा बस्तीहरूको संरक्षण, सुधार र विकासका लागि अभियानमूलक कार्यक्रमहरू सञ्चालन ।
६) मूर्त तथा अमूर्तलगायतका सम्पदा, सम्पदा बस्तीहरूको संरक्षण र विकाससँग सम्बन्धित विवाद समाधानका लागि पहल, त्यससँग सम्बन्धित समुदाय, सम्बद्ध संघ, संस्था खलः, पुचः वा गुठी वा व्यक्तिहरूको मध्यस्तकर्ताको भूमिका ।
७) संरक्षित क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णय तथा कार्यक्रमहरू कार्यान्वयनका लागि कार्ययोजना बनाई कार्यान्वयन ।
८) समितिको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार, वागमती प्रदेश सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूसमक्ष सहयोग तथा समन्वयका लागि आवश्यक पहलकदमी ।
९) समितिको आफ्नो कार्य क्षेत्रमा रहेका विषयमा नीतिगत संशोधन तथा सुधारसहित आवश्यक बजेट निर्माणका अगुवाई ।
१०) कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्रभित्रको घरजग्गा खरीद बिक्री गर्ने सन्दर्भमा स्थानीय सांस्कृतिक जीवन संरक्षित र विभाजित हुनबाट रोक्न आवश्यक प्रबन्ध ।

कीर्तिपुर नगरपालिकामा सांस्कृतिक संरक्षित क्षेत्रसम्बन्धी ऐन कार्यान्वयनमा केही चुनौतीहरू पनि आउन सक्छन् । यसलाई सबै मिलेर सामना गर्न आवश्यक हुनेछ । पहिलो कुरा देश भरमा नयाँ अभ्यास भएको हुँदा नगरपालिका तथा सरोकारवाला पक्ष दुवै अलमलमा पर्न सक्छन् । यसको आधार स्तम्भ भनेको सम्बन्धित क्षेत्रका प्रथाजन्य खलःपुचःहरू हुन् । तिनीहरू अधिकांश लिपिवद्ध विधि विधानलाई आधार मानेर चलेका छैनन् । यसमा संलग्न हुन र क्रियाशील हुन लिपिवद्ध ऐन तथा नियमावलीलाई पछ्याउन असहज मान्ने वा झर्को मान्ने स्थिति बन्न सक्छ ।

त्यस्तै, नगरपालिका बाहिरका नेपाल सरकार तथा प्रदेश सरकारका सम्वद्ध निकायहरूसँग सहयोग तथा समन्वयका लागि शुरूमा सहज वातावरण नहुन सक्छ । ऐनले परिकल्पना गरेको कार्यकारी निकायमा जनप्रतिनिधिहरू नरहने र जनप्रतिनिधिमूलक निकायले गर्ने वा गर्न पर्ने काममध्येकै केही काम यसले गर्ने भएकोले कार्यक्षेत्रमा हस्तक्षेपको महसुस वा कार्यक्षेत्रमा दोहोरोपनको आभास पर्न सक्छ । शुद्ध सामुदायिक प्रकृतिको वैधानिक संस्था भएकोले तोकिएको विधिबाट आउने यसको नेतृत्वको अनुहार हेरेर नगरपालिकाबाट उपलव्ध हुने सहयोग र समन्वयकारी कार्यमा फरकपन आउन सक्छ ।

अन्तमा नयाँ वर्ष नेपाल संवत् ११४३ को सुरुवातसँगै प्रस्तावित नियमावली पारित गरी घोषित कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्रको यथोचित संरक्षण र विकास कार्यको व्यवस्थित थालनी होस्, सबैमा शुभकामना – भिन्तुना ।
(लेखक अधिवक्ता महर्जन कीर्तिपुर नगरपालिकामा वरिष्ठ अधिकृत हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्