नेपाल संवत् र यसको प्रयोग



नेपाली इतिहासमा मुख्यतः चार वटा संवत् चल्तीमा आएका देखिन्छन् । ती हुन्, अघिल्लो लिच्छवि संवत् । पछिल्लो लिच्छवी संवत् , नेपालसंवत् र विक्रम संवत् । सुमतितन्त्र ग्रन्थअनुसार नेपाल संवत्मा ८०२ अंक जोडेमा त्यो शक संवत् बन्छ । यही आधारमा अघिल्लो लिच्छवी संवत्लाई शक संवत् भानिएको छ । त्यस्तै, पछिल्लो संवत् मानदेव द्वितीयको नामबाट प्रचलित मानदेव संवत् हो ।

नेपालमा हालसम्म भेटिएको शक संवत् अंकित शिलालेख संवत् १०७ को मालिगाउँ अवस्थित जय वर्माको शिलालेख हो । अंशुवर्माकालीन शक संवत् ५१५ देखि ५२६ सम्मका शिलालेखहरू भेटिएका छन् । त्यसपछि अंशुवर्माका संवत् २९ देखि ४५ सम्मका मानदेव संवत्को संज्ञा दिन्छन् । यस संवत्लाई अंशुवर्माले प्रचलनमा ल्याएको अंशुवर्मा संवत् हो भन्नेहरू पनि छन्।

लिच्छवी संवत् ८०३ पुग्दा नेपाल संवत् शुरू भएको देखिन्छ । नेपाल संवत् शुरू भएको दिन सन् ८७९ अक्टोबर २० हो भनी कीलहर्नले पत्ता लगाएका छन् । पाटन क्वाः बहालको अष्ट सहस्रिका प्रज्ञापारमिता पुस्तकमा उल्लेख भएको चि संवत् लाई नेपाल संवत् १ ( एक) हो भन्ने तर्क पनि रहँदै आएको कुरा डा. चुन्दा बज्राचार्यले उल्लेख गरेका छन् ।

त्यस्तै, पाटनको मंगलबजारस्थित कृष्णमन्दिर अगाडिको ढुंगेधारामा उत्कीर्ण गरिएको ऊँ संवत् माता लाई नेपाल संवत् (१०) दस मानिँदै आएको छ ।

नेपाल संवत् नै भनी किटान गरिएको सर्वप्राचीन नमुना भने एस के सरस्वती (कलकत्ता) को संग्रहमा भएको अष्ट सहस्रिका प्रज्ञापारमिता ग्रन्थ मानिएको छ, जसमा नेपाल वत्सरे १४८ प्रगने माघ शुक्ल दशम्यां भनी तिथि उल्लेख भएको छ । यसपछिका अभिलेखहरूमा यो संवत्लाई श्रयस्तु संवत् , नेपालाब्द, नैपालीक संवत् , नेपाल देशीय संवत् शुभ संवत् , नेपालीक संवत् , नेपाल भाखा संवत् आदि उल्लेख भएको पाइन्छ।

नेपाल संवत्को उत्पत्ति क्षेत्र नेपालमण्डल (काठमाडौं खाल्डो) भए पनि यसको प्रयोग यहीं मात्र सीमित भएको भने देखिदैन । नेपालको पूर्वी उदयपुर जिल्लादेखि पश्चिमका मगरात, गुल्मी, प्यूठान, लमजुंग आदि ठाउका हस्तलिखित ग्रन्थादिमा नेपाल संवत् व्यापक प्रयोग भएको पाइन्छ ।

यसको प्रयोग भारत र तिब्बत (चीन) मा पनि भएको प्रमाण महाचीनका मिंगवंशी राजा तायिमिंगले बनेपाका शासक शक्ति सिंह रामलाई नेपाल संवत् ५३५ आषाढ शुक्ल दशमी मिति उल्लेख गरी पठाएको फरमान पत्र, भारत कुचविहारका राना प्राणनारायणले नेपाल संवत् ७५३ उल्लेख गरी निकालेको ससुवर्ण मुद्रा, शाहवंशीय राजा प्रतापसिंहको पालामा भएका नेपाल संवत् ८९५ उल्लेखित भोटसितके सन्धिपत्र आदि हुन् ।

नेपाली इतिहासमा लिच्छवीसंवत् जम्मा ८ सय वर्षसम्म चलेको छ । नेपालमा जति पनि चाडपर्व, जात्रा मेला, उत्सव मनाइन्छ ती सबै नै (केही अपवाद छाडेर) नेपाल संवत्को चन्द्रमास पात्रो अनुसार नै मनाईंदै आइएको छ । नेपाल संवत्को ज्ञान विना त नेपालको इतिहास र संस्कृति अध्ययन असम्भव नै छ । नेपालको इतिहास र संस्कृति अध्ययनमा सबैभन्दा महत्वपूर्ण संवत्् नेपाल संवत्् नै हो । वास्तवमा संवत् कुनै जाति, भाषा र वर्गसंग मात्र जोडिने विषयवस्तु होइन ।

आज नेपाल संवत्को ऐतिहासिक मौलिकता र महत्वमाथि कसैले शंका गर्ने ठाउँ नरहे जस्तै यो संवत् कुनै जाति, भाषा, वर्ग वा धर्मसँग मात्र सम्बन्धित होइन भन्ने तथ्य पनि सर्वमान्य भइसकेको छ । त्यसैले यो संवत्लाई ओझेलमा पार्नु भनेको नेपालको आफ्नो मौलिकतालाई उपेक्षा गर्नु सरह ठहर्दछ ।औपचारिक रूपमा भने यस संवत्लाई केवल “संवत्” मात्र लेख्ने गरेको पाइएको छ । वर्तमान नेपाल–संवत्को आरम्भ शक संवत् ८०१ को कार्तिकशुक्ल प्रतिपदा तदनुसार वि.सं. ९३६ को कात्तिक २२ गते (२० अक्टोबर इ.सं. ८८७) देखि भएको मानिन्छ ।
अघिल्लो पूरा एक–शताब्दीभर नै यस संवत्को प्रयोग भएको कुनै पनि लिखत आजसम्म पाउन सकिएको छैन ।

नेपालका बहुसंख्यक जनताको धार्मिक, सांस्कृतिक, सामाजिक तथा जन्मदेखि मृत्युपर्यन्तको कार्यमा नेपाल संवत् अक्षुण्ण र अभिन्न रूपमा प्रयोग हुँदैआएको छ । ‘पास्नी’को साइत जुराउनेदेखि नै नेपाल संवत्को प्रयोग सुरु हुन्छ । हामीले मनाउने जन्मोत्सवहरू, जीवित पुर्खाहरूको जंक्व, मृत पुर्खाको नाममा गरिने श्राद्ध, तर्पण, पिण्डपानी अर्पण आदि सबै नेपाल संवत्कै तिथि अनुसारका साइतमा गरिन्छन् । यसकारण यो संवत् नेपालीको जीवित सम्पदासँग सम्बन्धित संवत् हो । नेपालीको मौलिक धर्म, संस्कृति, परम्परा र रीतिरिवाज जीवित रहेसम्म नेपाल संवत्को अस्तित्व पनि स्वतः जीवित रही रहनेमा कुनै आशंका गर्ने ठाउँ छैन । तर अचेल केही नेपालीहरूले गते र तारेखका आधारमा जन्मदिनहरू मनाउन थालिएकाले भने यसमा ग्रहण लागेको हो कि भन्न सकिन्छ ।
राजा राघवदेवको पालामा एक सामान्य व्यक्तिले प्रचलनमा ल्याएका हुनाले यसलाई खासै महत्व दिएको देखिँदैन ।
आफ्नो सम्पूर्ण धन जनताको उद्धार कार्यमा खर्चेर जनतालाई मुक्तिको सास फेर्न लगाउने र नयाँ संवत् प्रचलनमा ल्याउने व्यक्ति शंखधर साख्वाः थिए ।
शताब्दीयौंदेखि जनश्रुतिबाट अमर रहेका साख्वाः नेपाल संवत् ८२७ का अभिलेखमा शंख्वा नामले देखापरे । भूपतिन्द्र मल्लको शासनकालको नेपाल संवत् ८२७ को भक्तपुरको जेंला टोलस्थित एक शिलालेखमा नेपाल भाखा शंख्वा संवत् उत्कीर्ण भएको छ । यिनै शंखधरलाई शंख, शंख्वा, साख्वाः साख्वाल (सा — गाई, ख्वाः — अनुहार), साखवाल, साख्वाल आदि नामले चिनाउने प्रयास भएका छन् । यिनलाई वंशावलीमा कहीँ व्यापारी, कहीँ शुद्र त कहीं कुम्हाल, ज्यापू वा गोपाल आदिका रूपमा देखाइएको छ ।

नेपाल देशको इतिहास नामक वंशावलीअनुसार शंख नामक साख्वाः ज्यापूले कलिर्गताब्द ३९८१, मानदेव संवत् ४९८ र शक संवत् ८०२ मा आफ्ना राजा (राघवदेव) बाट स्वीकृति लिई नेपाल संवत् १ कायम गरे । राजा राघवदेव मानदेव चौथोका छोरा थिए जसले आफ्नो राज्यकालमा श्री पशुपति भट्टारक संवत्सर चलाए भन्ने व्यहोरा उक्त वंशावलीमा उल्लेख छ ।

ने. सं. ५२४ मा ललितपुर, सुनधारामा धर्म मल्लको शिलालेखमा कलिर्गत संवत् ४५०५, श्री विक्रमराज संवत् १४६७ (१४६१), श्री शकराज संवत् १३२६, श्रीमन्त नेपालिके संवत् ५२४ भनी लेखिएको छ । यसबाट नेपाली माटोमा जन्मिएको यो संवत् विक्रम संवत् ९३६ कार्तिकशुक्ल प्रतिपदा, ईश्वी संवत् ८७९ अक्टोबर २० मा प्रचलनमा आएको प्रमाणित हुन आउँछ । यसप्रकार नेपाल संवत् कलिर्गताब्दभन्दा ३९८१ वर्ष कान्छो, शक संवत्भन्दा ८०१ वर्ष, विक्रम संवत्भन्दा ९३६÷९३७ वर्ष र इस्वी संवत्भन्दा ८७९÷८८० वर्षले कान्छो देखिन्छ ।

यो संवत्को नववर्षारम्भ म्हपूजाको दिनमा हुन्छ । त्यसैले नेपाल संवत्मा कार्तिकशुक्ल प्रतिपदादेखि चैत मसान्तसम्मको तिथिमा ९३६ वर्ष जोड्दा विक्रमसंवत् निस्कन्छ ।नेपाल संवत्लाई मध्यकालका लिच्छवि तथा मल्लराजाहरूले खुसीपूर्वक राजकीय सम्मानसाथ चलाउँदै आए ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रयोगका प्रमाणहरू

नेपाल संवत् लिच्छविराजा राघवदेवको पालामा निस्केको भनी विद्वान् कनिङ्घमले प्रकाशमा ल्याएका थिए । उनको भनाइ समेट्दै इतिहासविद् बालचन्द्र शर्माले राजा राघवदेवको समयमा शंखधर साख्वाःले नेपाल संवत् प्रतिपादन गरेको भनाइ सार्वजनिक गरे ।

त्यस्तै, फ्रान्सेली विद्वान् सिल्भाँ लेभीले केशर पुस्तकालयमा प्राप्त एउटा अपूर्ण ठ्यासफूमा ‘राजा श्री राघवदेव वर्ष ६३ मास ६ ।। श्री पशुपति भट्टारके संवत्सर प्रवृत्ति ।। कृत’ लेखिएकोले यो राघवदेवको पशुपति भट्टारके संवत् हो कि भन्ने भान परे पनि पछिल्लो समय प्राप्त ऐतिहासिक तथ्यका आधारमा राघवदेव आफैंले नभई शंखधर साख्वाःबाट प्रतिपादन भएको पुष्टि हुन आएको छ ।

गुणानन्द पण्डितद्वारा संकलित तथा डेनियल राइटद्वारा सम्पादित वंशावलीअनुसार शंखधरले नेपाल संवत् सुरु गरेपछि आफ्नो घरनेर एउटा चैत्य स्थापना गरेको तथ्य हाल पनि विष्णुमती नदीकिनारको लुखुतीर्थमा देख्न सकिन्छ ।
गाथा वंशावलीमा शंखधरले नयाँ संवत् चलाउन मानिसहरूको ऋण तिरिदिँदा प्रयोग भएको शिला सिनामंगलमा रहेको जानकारीमा आएको छ ।

नेपाल संवत्को प्रयोग विशेष गरी नेपालमण्डलभित्रका मध्यकालीन तथा पूर्वआधुनिककालीन अभिलेखहरूमा व्यापक देखिन्छ । जस्तै, नेपाल संवत् उपयोग भएको हालसम्म प्राप्त प्राचीन अभिलेखमा संवत् ४० को अष्टसाहस्रिक प्रज्ञापारमिताको ग्रन्थ हो जुन पाटनको रुद्रवर्ण महाविहारमा सुरक्षित छ ।

यो संवत्लाई नेपाल संवत् भनी लेखिएको मिति १४८ को अर्को सहस्रिक प्रज्ञापारमिता हो जुन कलकत्तामा विद्वान् एसके सरस्वतीकोमा सुरक्षित छ ।महाचीनका मिङवंशी सम्राट तायेमिङले बनेपाका शासक शक्तिसिंह रामवद्र्धनलाई संस्कृतभाषा, रञ्जना लिपिमा लेखेर पठाएको फरमानपत्रमा ने. सं. ५३५ असारशुक्ल दशमी उल्लेख गरिएबाट नेपाल संवत्को महत्व चीनसम्म पुगेको स्पष्ट हुन्छ ।

भारत, पश्चिम बंगालको कुचबिहारमा राजा प्राणनारायणले निकालेको सुवर्ण मुद्रामा नेपाल संवत् ७३५ अंकित रहेको पाइन्छ ।
१४८ वर्षसम्म संवत् मात्र भनिएको र त्यसपछि मात्र नेपाल संवत् भनिए पनि भक्तपुरको जेँलाटोलको एउटा पाटीमा पाइएको शिलापत्र आजसम्म भेटिएको प्रमाणमध्ये सबैभन्दा दरिलो हुन आएको छ ।ने. सं. ८२७ को भूपति मल्लको समयको उक्त शिलापत्रको तेस्रो हरफमा स्पष्टसँग साख्वाः संवत् ८२७ वैशाख कृष्ण दशमी उल्लेख भएको छ ।राजा प्रतापसिंह शाहको पालामा ल्हासा (तिब्बत–भोट) का ग्याल्छा परिबोचे लामासँग नेपाल–तिब्बतको सन्धिपत्रमा नेपालभाषा र नेपाल संवत् ८९५ भनी प्रयोग गरिएको छ ।

ने. सं. ९५०– ९९० तिर लेखिएका भाषा वंशावली तथा इन्डिया अफिस लाइब्रेरी लन्डनमा रहेको गोरखा वंशावलीलगायतले एकै स्वरमा नेपाल संवत्को प्रवर्तक शंखधर साख्वाः नै भएको पुष्टि गरेका छन् ।ने. सं. ९८२ लेखिएको सम्पूर्ण नेपाल संवत्सरको किताब क्याम्ब्रिज विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ ।गोरखा वंशावलीअनुसार पशुपतिनाथको दक्षिण पश्चिम कुनाको शंखसहितको मूर्ति उनै शंखधर साख्वाःको मानिएको छ ।

गुल्मी, प्युठान र लमजुङका पुराना हस्तलिखित कागजपत्र, नेपालका वंशावली, घटनावली, कतिपय नेपाली ग्रन्थ तथा विश्व सम्पदा सूचीमा रहेका देवल, गुम्बालगायत स्थलमा उल्लेख भएबाट यो संवत् समस्त नेपालीका लागि आफ्नै सम्पदाका रूपमा सर्वस्वीकार्य भएको सिद्ध हुन्छ ।वि.सं. २०४६ (ने.सं. १११०) मा सम्पन्न प्रथम ऐतिहासिक जनआन्दोलनको जगमा बनेको गिरिजा सरकारले २०५६ मङ्सिर २ (ने.सं. ११२० कौलाथ्व दशमी) मा नेपाल संवत्को जग बसाल्ने शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरी उनीप्रति सम्मान दर्शाएका छन् ।

यो केवल व्यक्तिविशेषलाई नभई समग्र नेपाली राष्ट्रिय भावनाप्रति दर्साइएको सम्मान हो । त्यस्तै वि.सं. २०६२÷०६३ (ने.सं. ११२६) मा सम्पन्न दोस्रो ऐतिहासिक जनआन्दोलनको जगमा बनेको पुष्पकमल दाहाल सरकारले २०६५ कात्तिक ७ (ने.सं. ११२८ कौलागा दशमी) का दिन नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरी यसप्रति ठूलो गुन लगाएको आभास भएको छ ।

प्रतिक्रिया दिनुहोस्