जनताको सहमतिमा उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउँछौं : मन्त्री पौडेल



बग्लुङ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउने बताउनुभएको छ । मंगलबार ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा चुनावी सभालाई सम्बोधन गर्दै उहाँले स्थानीयसँग सहमति गरेर परियोजना अघि बढाउने बताउनुभएको हो । “उत्तरगंगा जलाशयुक्त परियोजना स्थानीयहरूको जग्गाको मुआब्जासम्बन्धी अन्योललाई टुंग्याएर अघि बढाउँछौं” उहाँले भन्नुभयो,“यो वर्ष पनि सरकारले २ करोड बजेट विनियोजन गरेको छ । स्थानीयहरुको सहमतिमै उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउँछौं ।”

उहाँले मध्यपहाडी लोकमार्गको अछते बिहुँ खण्डको सडकको कामका लागि मन्त्रालय र व्यवसायी (ठेकेदार)लाई नियमित खबरदारी गरेको भन्दै कालोपत्रे चाँडै गर्ने मन्त्रालयले आश्वासन दिएको बताउनुभयो । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक सय बेडको बनाउने प्रक्रिया स्वास्थ्यमन्त्रालयमा पुगेको बताउँदै मन्त्रिपरिषदमा पुर्याएर निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, देशका सबै सार्वजनिक विद्यालयमा इन्टरनेटको सुविधा पुर्याउने बताउनुभएको छ ।

देशका धेरै विद्यालयमा आइसिटीसहितको भवन बनिरहेको बताउँदै विद्यार्थीलाई प्रविधिसँग जोड्न इन्टरनेटको आवश्यक हुने भएकाले मन्त्रालयले सबै सार्वजनिक विद्यालयमा इन्टरनेटको सुविधा पुर्याउने योजनासहित प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले लोकतन्त्रमा कसैको पक्ष वा विपक्षमा बोल्न संविधानमा उल्लेख भएको बताउँदै अधिकार प्राप्तिका लागि बोल्नुपर्ने बताउनुभयो । “लोकतन्त्र भनेको कसैको विरोध, आलोचना, आफ्नो विचार दृष्टिकोण व्यक्त गर्नुलाई लोकतान्त्रिक प्रणाली भनिन्छ,” उहाँले भन्नुभयो, “यो प्रणाली ल्याउन शहीदहरुले बलिदानी दिनुभएको छ ।”

सरकारले ९६ प्रकारका नि:शुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा नि:शुल्क हुने आश्वासन दिनुभयो ।

संविधानमा माध्यमिक तहको शिक्षा नि:शुल्क भनेपनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै कक्षा ६ सम्म दिवा खाजासहित शिक्षक अस्पताल बन्ने प्रक्रियामा रहेको उल्लेख गर्नुभयो ।
बागलुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै बागलुङकै विकाशका लागि जीवन्त लागिपरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार द्रोर्णकुमार कुँवरले जनताका मुद्धाहरु आफूहरु लिएर आएको भन्दै संविधान च्यात्नेका विरुद्ध एकजुट हुन गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

जनताको माझमा सिक्न आएको भन्दै जनताकै सामू रहेर विकाश र समृद्धिका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्