कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन सारमा एउटै सिक्काका दुईपाटा

शासक दलहरु राजनीतिलाई अपराधीकरण गर्न लागिपरे



काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले घोषणापत्र सार्वजनिक गरेको हो ।

नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणपत्रमा गोर्खा भर्ती खारेज गर्नेदेखि मुलुकमा रासायनिक मल कारखाना खोल्नेसम्मका विषय समेटिएका छन् ।घोषणापत्रमा माध्यमिक शिक्षा अनिवार्यरुपमा निशुल्क गर्नुपर्ने र विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजानुपर्ने उल्लेख छ ।

नेमकिपाले नेकपा एमाले पूँजीवादी सत्ताको भागबण्डामा लाग्नु राजनीतिक रुपमा असक्त सावित भएको बताउदै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धन सारमा एउटै सिक्को दुइपाटा भएको आरोप लगाएको छ ।

नेपालमा शासक दलहरुले राजनीतिलाई अपराधीकरण गर्न लागिपरेको बताउँदै उसले नेपालीको सम्पत्ती विदेशमा राख्न नदिने व्यवस्था गर्न तत्काल कानुनको बन्दोवस्त गर्नु पर्ने तर्क अघि सारेको छ । घोषणपत्रमा पार्टीले नेपालको पूँजी देशकै विकासमा लगानी गर्न राष्ट्रिय पूँजीपतिहरुलाई उत्साहित गर्नुपर्ने आजको आवश्यकता रहेको बताएको छ ।

अपराधीहरुको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्ने राजनीतिक दल, संघ संस्था र व्यक्तिलाई समेत कानुन उलंघन गरेको अपराधमानी डण्ड जरिवाना असुलउपर गराउँन नयाँ विधेयक निर्माणमा नेपाल मजदुर किसान पार्टीले सदन र सडकमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

घोषणपत्रमा नेपालमा काम पनि नगर्ने ठेक्का पनि नछोडी देश र जनतालाई धोका दिने ठेकेदारलाई कडा भन्दा कडा कारबाही गर्दै ठेकाबाट बञ्चित गराउँन ऐन,कानुन संसदबाट तर्जुमा गराउन नेमकिपाका प्रतिनिधिहरुले संसदमा भूमिका खेल्ने भनाई छ ।

नेपालीको सम्पत्तिलाई विदेशमा नलैजाने नियम कानुन बनाउन आवश्यक रहेको नेमकिपाले औंल्याएको छ ।

यस्तै शिक्षामा बजेट बढाउनुपर्ने, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेलगायत विषयहरु नेमकिपाले आफ्नो घोषणापत्रमा समेटेको छ ।
नेमकिपाले संघीयताको औचित्यमाथि प्रश्न उठाउँदै निर्वाचनपछि बलियो प्रतिपक्षको रुपमा संसदमा प्रस्तुत हुने जनाएको छ।

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो पार्टीले अहम भूमिका निर्वाह गर्ने घोषणापत्रमा उल्लेख छ। समाजवादको विकल्प नभएको ठहर्‍याउँदै नेमकिपाले वर्तमान राजनीतिक दलहरुको कार्यशैलीको तीव्र आलोचना गरेको छ।

उसले भारतसँग भएको असमान सन्धीहरु खारेज गर्न आफ्नो पार्टीले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।

कार्यक्रममा पार्टीका अध्यक्ष बिजुक्छेले एमसीसी देशको अहितमा रहेको यसकै कारण नेपाल युद्धमा फस्ने स्थिति आएको बताउनुभयो ।

निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा घोषणापत्रको सार प्रस्तुत गर्दै पार्टीका सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले निर्वाचन क्रान्तिको संकेत दिने ब्यारोमिटर भएको बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्