निजी क्षेत्रको उत्कृष्ट विद्यालय काभ्रे मावि



काभ्रे।

जिल्लाको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विद्यालयको नाम चिनाउन सफल काभ्रे माध्यमिक विद्यालयले ३० औ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका साथ मनाएको छ । काभ्रे शिक्षा विकास प्रतिष्ठान निजी गुठीद्वारा काभ्रे माध्यमिक विद्यालय बनेपामा र काभ्रे इंङ्गलिस माध्यमिक विद्यालय पनौतीमा सञ्चालित छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाले निजी गुठीबाट सञ्चालित विद्यालयहरू विशुद्ध मुनाफा रहित भएकाले शान्ति, सृजनशीलता र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य रहेको बताउनु भयो । ‘जुन उद्देश्यले विद्यालय स्थापना गरिएको थियो, ३० वर्षको इतिहासमा त्यो उद्देश्य पुरा भएको छ’–अध्यक्ष अवाले भन्नुभयो–‘काभ्रेपलाञ्चोक र आसपास जिल्लाका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सक्षम भएको छ ।’

विद्यालयका प्राचार्य कुमार मानन्धरले विद्यालयको आर्थिक र शैक्षिक गतिविधिका बारेमा जानकारी गराउँदै आगामी वर्ष विद्यालयले गुणस्तरीय शिक्षालाई ब्यवहारीकतासँगै जीवनउपयोगी बनाउन अभिभावकसँग हातेमालो गर्ने बताउनु भयो । ‘बाललिकाहरुलाई गाली गरेर, डर र त्रास देखाएर सिक्न सक्दैनन्’–प्राचार्य मानन्धरले भन्नुभयो–‘अभिभावकहरुको निरन्तरको रेखदेख र निगरानीका साथै उनिहरुको चाहनामा अभिभावक सहयोगी र सारथी बन्न सक्नु पर्दछ ।’ पछिल्लो समय बालबालिकाहरु अभिभावकको बेवास्ता र आफू अनुकल बालबालिकाहरुलाई प्रयोग गर्न खोजेका कारण दुर्व्यसन तथा गलत क्रियाकलापमा संलग्न हुने गरेको अध्ययनले देखाएको प्राचार्य मानन्धरले बताउनु भयो ।

सहायक प्रिन्सिपल विकास श्रेष्ठले विद्यालय स्थापना देखि हालसम्म सेवा पु¥याउने संचालक सदस्य तथा विद्यालयका सेवा र सुविधाका बारेमा जानकारी गराउँदै आधुनिक, सुविधा सम्पन्न प्रयोगशाला, फराकिला कक्षा कोठा, शान्त तथा शैक्षिक वातावरण रहेको काभ्रे मावीले उत्कृष्ट शिक्षा प्रदान गर्न व्यवस्थित प्रयोगशाला लगायतका सुविधाहरु उपलब्ध गराएको बताउनु भयो ।

शिशु कक्षा देखि १२ सम्म अध्यापन गराउँदै आएको विद्यालयले कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान, होटेल व्यवस्थापन र व्यवसाय अध्ययनलाई प्राथमिकता दिँदै आएको छ । २०४९ सालमा स्थापना भएको उक्त विद्यालयले २०५२ सालमा २५ जना विद्यार्थीबाट एसएलसी दिन शुरु गरेको थियो ।

२०७८ को एसइईसम्म विद्यालयबा १ हजार ७ सय ९२ जनाले उच्च शिक्षाका लागि अवसर प्राप्त गरेका छन् । विद्यालयमा सबै भन्दा धेरै १ सय ५ जना विद्यार्थीले २०७४ सालमा एसइई दिएका थिए भने सबै भन्दा कम २०५४ सालमा २० जनाले एसएलसी दिएको प्राचार्य मानन्धरले जानकारी दिनु भयो ।

२०६६ सालबाट कक्षा ११ शुरु गरेको विद्यालयबाट ७ सय ४२ जना कक्षा १२ उतीर्ण भएका छन् । विद्यालयमा हाल १ हजार २ सय २४ जना अध्ययनरत छन् भने ८२ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

२०७८ वैशाख देखि २०७८ चैत्रसम्म २ करोड ५६ लाख आम्दानी गरी २ करोड ३७ लाख खर्च गरेको विद्यालयले २०७९ को शैक्षिक सत्रका लागि ३ करोड ४८ लाखको अनुमानित आय व्यय प्रस्तुत गरेको छ । आफ्नै जग्गा र भवन सहितका सुविधा सम्पन्न प्रयोगशाला, फर्निचर, विद्यालय बस लगायतको करिब १५ करोड भन्दा धेरैको सम्पत्ति बनेपा विद्यालयको रहेको छ । विद्यालयले शिक्षक कर्मचारीहरुका लागि उपदान, संचय कोष, स्वास्थ्य बिमा, स्वास्थ्य शिविरहरु आयोजना गरिरहेको छ ।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्राचार्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, विद्यालय संचालक सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरेका थिए भने दीर्घ सेवा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा संचालक सदस्य शान्तिरत्न शाक्य, विद्यार्थी कक्षा १० की कृष्पा बजगाई लगायतले विद्यालय स्थापनाको स्मरण गराएका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले खेलकुद सप्ताहको आयोजना गरेको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्