कञ्चनपुरमा प्रदेश र प्रतिनिधि सभाका २ उम्मेदवारविरुद्ध नै भ्रष्टाचार मुद्दा

0
Shares

धनगढी।

कञ्चनपुरबाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका २ जनाविरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसभा सदस्यका उम्मेदवार पल्टु राना र प्रतिनिधिसभा सदस्यका उम्मेदवार मदन दमाईविरुद्ध मुद्दा दर्ता गरेको हो।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालीन अध्यक्ष पल्टु राना र विचौलिया मदन दमाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुले मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए।

पल्टु राना क्षेत्र नम्बर १ ९१० मा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेदवार छन्। मदन दमाईले स्वतन्त्रबाट प्रतिनिधीसभा सदस्यका लागि क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका छन्। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम बिगोसहित थप कैद सजायको मागदावी गरेर विशेष आदालतमा मुद्दा दायर भएको छ।

रानालाई ३७ लाख, ९२ हजार बिगो सहित कसुर तथा सजाय मागदावी गरिएको छ। बिचौलिया घोषित गरेर दमाईलाई ३७ लाख ४६ हजार ८ सय ८० रूपैयाँ बिगो सहित कसुर तथा सजाय मागदावी गरिएको छ। राना र दमाईविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम ३७ लाख बढि रूपैयाँँ बिगोसहित थप कैद सजायको मागदावी गरेर विशेष आदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले तीन जना तत्कालिन अध्यक्षसहित ३७ जनाको नाममा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

 

Skip This