नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा एपिएफले जित्यो स्वर्णपदक (तस्बिरसहित)



म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्णपदक जितेको छ । हिँजो (बुधवार) सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले स्वर्णपदक जितेको हो ।

भलिबलको फाइनल खेलमा एपिएफ क्लबले पहिलो सेट २५–१९ ले जित्दै अग्रता बनाएको थियो भने प्रतिस्पर्धात्मक रुपमा दोस्रो सेट पनि ३०–२८ ले जितेको थियो । तेस्रो सेटमा भने पुलिस क्लबले पुनरागमन गर्दै ट्राइब्रेकमा २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । तर चौथो तथा अन्तिम सेट भने एपिएफले पुलिसलाई २५–१९ ले आफ्नो पक्षमा पार्दै स्वर्णपदक जित्न सफल भएको थियो ।

यसैगरी हिँजै बिहान भएको भलिबलमा बाग्मती प्रदेशले गण्डकीलाई हराउँदै कास्य जितेको छ । बाग्मतीले गण्डकीलाई ३–१ को सेटमा पराजित गरी कास्यपदक जितेको जिल्ला भबिलबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । यो खेलमा पहिलो सेट गण्डकीले २५–२० ले बाग्मतीलाई जितेको थियो भने त्यसपछि लगातार तीन सेट बाग्मतीले २५–१२, २५–२१ र २५–१७ ले जितेको थियो । प्रतियोगितामा विजेता क्लब तथा खेलाडीहरुलाई नगद, मेडल, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा विजयी टोलीलाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरन्जिवी राना, सशस्त्र प्रहरी बल गलेश्वरका डिएसपी प्रदीप थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । विजेता खेलाडीहरुलाई जनही १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको आयोजकले जनाएका छन् ।

यसैगरी तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्यपदकसहित विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । त्यस्तै त्रिभूवन आर्मी क्लबले ७ स्वर्ण, ८ रजत र २ कास्यपदक जितेको छ भने एपिएफले ३ स्वर्ण, २ रजत र ९ कास्यपदक जितेको छ । यस प्रतियोगितामा मधेश प्रदेशले १ स्वर्ण, २ रजत र ५ कास्य, प्रदेशनम्बर १ ले ८ कास्य, बागमतीले १ रजत र ३ कास्य, गण्डकीले ७ कास्य, लुम्बिनीले २ रजत र ४ कास्य, कर्णालीले ३ कास्य, सुदुरपश्चिम र एनआरएनएले एकएक वटा पदक जितेको तेक्वान्दोका प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो ।

महिला भलिबलको फाइनल खेलसँगै म्याग्दीमा खेलाइएको भलिबल र तेक्वान्दो प्रतियोगिता सकिएको आयोजकले जनाएको छ । गएको असोज २७ गतेदेखि म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा महिला भलिबल र कालीपुलको बहुउद्देश्यीय कबर्डहलमा तेक्वान्दो प्रतियोगिता सञ्चालन गरिएको थियो । राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सातवटा प्रदेश र विभागीय टिम गरेर कुल १० वटा टिमले सहभागिता जनाएका थिएभने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय र एनआरएनएसहित कुल ११ वटा टिमको सहभागिता रहेको थियो । दुवै प्रतियोगितामा खेलाडी तथा अफिसियल गरेर ६ सयजना भन्दाबढी म्याग्दीमा आएका थिए ।

३९ वर्षपछि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको छ । म्याग्दीमा महिला भलिबल र तेक्वान्दो, कास्कीमा जुडो, टेबलटेनिस, भारोत्तोलन, फुलटबल, हक्की, ट्रायथलनलगायत, गोरखामा बुद्धिचालसहित गण्डकी प्रदेशअन्तर्गत ११ वटा जिल्लामा विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विधिवत् समापन आज पोखरामा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्