चुनावी खर्च गर्न बैंक खाता खोल्दै उम्मेदवारहरु



डडेल्धुरा । डडेल्धुरा जिल्लाबाट प्रतिनिधीसभा सदस्य पदका लागि नेपाली कांग्रेस (विपी) का उम्मेदवार कर्णबहादुर मल्लले चुनावी खर्च प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नु भएको छ ।

नेपाल एसबीआई बैंक लिमिटेड डडेल्धुरा शाखामा पुगेर बुधबार मल्लसँगै कांग्रेस.(विपीं)सँग चुनावी तालमेल गरेका नेकपा (एकीकृत समाजवादी) का नेता डा. तारा जोशीले पनि बैंक खाता सञ्चालनमा ल्याएका छन् । बैंक खाता खोलेसँगै साथीहरुबाट पहिलो दिन ७५ हजार रुपियाँ सहयोग प्राप्त गरेको मल्लले बताउनु भयो ।

प्रतिनिधीसभा सदस्य पदका लागि कांग्रेस (विपी) का उम्मेदवार मल्लले बैक खाताबाटै चुनावी खर्चको कारोबार गरेर अन्तिममा बैंक स्टेटमेन्टसहित चुनावी खर्चको विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनु भयो । निर्वाचन अयोगले जारी गरेको आचारसंहिताको दफा १६ उपदफा ‘ख’ मा उम्मेदवारले निर्वाचन सम्बन्धि खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता सोही खाताबाट गर्नुपर्ने प्रावधान छ ।

नेकपा (एमाले)बाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका बिक्रमबहादुर शाहीले समेत बैंकमा छुट्टै खाता खोलेको बताउनु भएको छ । उम्मेदवारहरुले बैंक खाता सञ्चालन गरेर सोही खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधान अनुसार सबै उम्मेदवारहरुले अनिवार्य रुपमा छुट्टै बैंक खाता सञ्चालनमा ल्याउनुपर्ने जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्