सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ८.६८ प्रतिशत प्रगति



सिन्धुली । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हाल सम्म ८ प्रतिशत प्रगति भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा निर्माणाधिन रहेको आयोजनाको हालसम्म ८.६८ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

कमलामाई नगरपालिका–६ शिवनगरमा रहेको आयोजनाको कार्यालयमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा आयोजनाले हालसम्म भएका कामको प्रगति सार्वजनिक गरेको हो ।

आयोजनाको भौतिकतर्फ ८.६८ र आर्थिकतर्फ ८.३३ प्रतिशत प्रगति भएको सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाका निर्देशक मित्र बरालले बताउनुभयो । आयोजनाको पहिलो चरणको कार्यअन्तर्गत सुरुङ खन्ने काम गत असोज २८ गते शुक्रबारदेखि सुरु भएको छ ।

‘आयोजनाको हालसम्म टिबिएम इन्लेट पोर्टल, सेग्मेन्ट प्लान्ट, क्रसिङ प्लान्ट, टिबिएम प्लाटफर्म, बेचिङ प्लान्ट लगाएतका काम सकिएको छ । यी काम सकिएपछि टिबिएम मेसिन ल्याएर जडान गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आयोजनाको अनुगमन, निरीक्षण पश्चात् टिबिएम मेसिनले सुरुङ खन्न सुरु भएको हो,’ आयोजना निर्देशक बरालले भन्नुभयो ।

आयोजनाको सुरुङ निर्माणको ठेक्का निर्माण कम्पनी चाईना ओभर्सिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक)ले पाएको छ । आयोजनाका निर्देशक बरालले कुनै भौगर्भिक समस्या नआए कुल १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माणको काम २२ महिना भित्र सक्ने गरी निर्माण कम्पनीले कार्य तालिका दिएको बताउनुभयो ।

सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुली र रामेछापको सिमाना सुनकोशी नदीमा बाँध बाँधी १३ दशमलब ३ किलोमिटर सुरुङमार्फत मरिण खोलामा खसाली बागमती नदी पुर्याइने छ । बागमतीमा पुर्याइएको पानीले बागमती सिँचाइ आयोजनाको पूर्वी तथा पश्चिम नहरबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाहरुका १ लाख २२ हजार हेक्टर जमीनमा वर्षैभरी सिँचाई सुविधा पुयाउने उदेश्य रहेको छ । यस आयोजनाबाट ३१ दशमलब ०७ मेगावाट जलविद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्