कैलालीमा दुई प्रदेश कमाण्डर चुनावी मैदानमा, रोचक प्रतिस्पर्धाको संकेत



धनगढी । 

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा २ ‘हेबीवेट’ नेताहरुबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। ५ निर्वाचन क्षेत्र रहेको कैलालीको क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको हो।

यहाँ प्रतिनिधि सभातर्फ नेकपा एमालेका तर्फबाट केन्द्रीय सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर चुनावी मैदानमा आमनेसामने भएपछि रोचक प्रतिस्पर्धाको आकलन गरिएको हो।

दुई फरक पार्टीका प्रदेश कमाण्डर अहिले संसदीय निर्वाचनका लागि आमनेसामने भएका छन् । दुवैबीचको चुनावी प्रतिस्पर्धालाई लिएर चर्चा सुरु भएको छ। औपचारिक रुपमा यी दुवै नेताले चुनावी एजेण्डा भने सार्वजनिक गरेका छैनन्। कैलालीबाटै आफ्नो राजनीति सुरु भएकाले पार्टीले पनि विश्वास गरेर टिकट दिएको नेता बलायरको दाबी छ। ‘मेरो राजनीतिक यात्रा कैलालीबाटै सुरु भएको हो।

गठबन्धनले पनि उपयुक्त मानेर कैलाली ४ बाट टिकट दिएको हुनसक्छ’ उहाँले भन्नुभयो, ‘डोटी छोड्नुको मेरो आफ्नो पिडा हुनसक्छ। तर कैलालीमा धेरै आफन्त र आफू अपरिचित पनि नभएकाले प्रतिस्पर्धा गर्न कुनै असहज छैन्।’ उनले पार्टीको निर्णयलाई आत्मसाथ गरेर चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ। सभापति देउवाका निकट पात्र मानिने बलायर आफ्नो पूर्ववत् निर्वाचन क्षेत्र डोटी छाडेर कैलाली झर्नुभएको हो। डोटीमा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलाई व्यवस्थापन गर्नुपर्ने भएपछि बलायरलाई कैलाली ४ मा ल्याइएको हो। उहाँले भट्टसँगको प्रतिस्पर्धा आफैँले रोज्नुभएको हो।

माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका भट्ट उक्त क्षेत्रबाट चौथो पटक चुनाव भिड्न लागेका हुन्। कैलाली क्षेत्र नम्बर ४ मात्र नभएर समग्र सुदूरपश्चिमको विकासका लागि उम्मेदवारी दिएको नेता लेखराज भट्टको दाबी छ। ‘मेरो उम्मेदवारी ४ नम्बर क्षेत्रका लागि मात्र केन्द्रित छैन। समग्र सुदूरपश्चिमको विकासका लागि हो’ उहाले भन्नुभयो, ‘२०७२ मा संविधान जारी भएयता भएका नागरिकका हक अधिकारलाई संस्थागत गर्न नेकपा एमालेको नेतृत्व आवश्यक भएकाले जनताका इच्छा आंकाक्षालाई पुरा गर्न उपयुक्त नेतृत्व चयन अपरिहार्य छ।’

काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायर पनि डोटीबाट ३ पटक चुनाव लडिसकेका नेता हुन्। चौथो पटकको निर्वाचन लड्न उहाँ कैलाली आउनुभएको हो। यसअघि माओवादी केन्द्र रहेकै बेला भट्ट दुई पटक विजयी हुनुभएको थियो। बलायर एक पटक विजयी हुनुभएको थियो। दुवै जना यसअघि मन्त्री भइसक्नु भएका अनुहार पनि हुन्।

स्थानीय तहको मतभार

३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २२ हजार ५०२, नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार १६०, नेकपा माओवादी केन्द्रका उम्मेदवारले १० हजार ५८७, एकीकृत समाजवादी पार्टीका उम्मेदवारले ३ हजार १८० र राप्रपाका उम्मेदवारले ३ हजार ७३४ मत प्राप्त गरेका छन् ।

यस आधारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलको मत ३५ हजार ९६९ पुग्छ भने नेकपा एमालेको मत २० हजार १६० छ। अर्थात् सत्तारुढ गठबन्धन भन्दा नेकपा एमाले १५ हजार ८ सय मतले पछि छ।

प्रतिक्रिया दिनुहोस्