लोकगायक राजु परियारलाई पितृ शाेक



काठमाडौं ।

लोकगायक राजु परियारलाई पितृ शोक परेको छ । आइतबार बिहान मंगलसिंह परियारको ७२ वर्षको उमेरमा निधन भएको हाे । लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । ३–४ वर्षयता फोक्सोको समस्याबाट पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो ।

काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो । चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो ।

लोकगायक राजु परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्बिरसहित राखेका छन् । उनले आफ्नो बुबाको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर निधन भएको बताएका छन् । ‘बुबा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो ।’– उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्