इजरायलको कृषि ज्ञान काभ्रेको नालामा



काभ्रे ।

श्रीमाई उग्रचण्डी साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौ बार्षिक साधारण सभा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता तथा अध्यक्ष सिता दंगालको अध्यक्षतामा सम्पन्न भएको छ । ३४ लाख १७ हजार शेयर पुँजी रहेको उक्त सहकारीमा समुह सदस्य १ सय ६९, शेयर सदस्य ९ सय २, किशोरी सदस्य ३२ र बाल सदस्य २ सय ४३ गरी १ हजार १ सय ७७ जनालाई सेवा दिएको छ ।

कृषिको माध्यमबाट स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्ने, कृषिलाई प्रविधि र यान्त्रीकरण गरी थोरै लगानीमा धेरै उत्पादन गराउने, प्राविधिक जनशक्ति स्थानीय स्तरमै तयार गर्ने योजनामा सहकारीले कार्य गरिरहेको अध्यक्ष सिता दंगालले बताउनु भयो । सोहि कार्यक्रम अन्र्तगत सहकारीले २१ देखि ३० वर्ष उमेर समुहका सदस्य वा सदस्यका छोराछोरीहरु मध्येबाट ६ जनालाई एक वर्षको कृषि प्राविधिक तालिम लिन इजरायल पठाएको अध्यक्ष दंगालले बताउनुभयो । तालिम लिएर फर्किएका युवाहरु कृषि पेशामा ब्यवसायीक रुपमा सक्रिय छन् ।

संस्थाले विमा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । सदस्य विमा, बाली विमा, पशु विमा, ऋण विमा अनिवार्य गर्ने गरी योजना निर्माण गरी कार्यान्वयन गरेको छ । विमा सेवा शुल्क ऋण लगानी, सदस्य वा सदस्यको परिवारको मृत्युमा भेटघाट कार्यक्रम, घुम्ती कोष मार्फत उन्नत जातको बाख्रा, बोका र गोरु वितरण, कृषि सम्वन्धी तालिम, लेखा तथा सहकारी वित्तिय साक्षरताका सम्वन्धमा तालिम लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिएको अध्यक्ष दंगालले बताउनु भयो ।

सभामा बोल्दै उपप्रमुख विमला सापकोटाले सहकारीले स्थानीय स्तरमा ल्याएको संस्थागत परिवर्तनमा नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष रमेश दाहाल, सहकारीकर्मीहरु मञ्जु घिमिरे, योगराज दाहाल, माधव सिग्देल, बलराम बजगाई लगायतले मन्तब्य राख्नु भएको थियो ।

सहकारीका उपाध्यक्ष सिता सापकोटा, सचिव सनिता बजगाई, कोषाध्यक्ष रसिला बजगाई, लेखा समिति संयोजक रञ्जु सापकोटा, विमा समिति सदस्य सुमित्रा पराजुली लगायतले सहकारीले उपलब्ध गराएको सेवा, कारोवार तथा थप योजनाका बारेमा जानकारी गराउनु भएको थियो । सहकारी मार्फत ऋण लिएका सदस्यहरुले ब्यवसायीक कृषि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्