आजै समस्या समाधान गर्छौं : शिक्षामन्त्री पौडेल

चिकित्सा शिक्षा आयोगमा लफडा



काठमाडौं । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष देवेन्द्र पौडेको निर्णय लत्याउँदै आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सरुवा भएका सहसचिव डा.भोजराज काफ्लेको सरुवा रोकेपछि चुलिएको विवाद ६ दिन भइसक्दा पनि समाधान भएको छैन ।

उपाध्यक्ष डा. गिरी सदस्यसचिव डा. भोजराज काफ्लेसहित ५ जना कर्मचारी हटाउने पक्षमा हुनुहुन्न । मन्त्री आफैंले सरुवा गरेको कर्मचारी हटाउन आयोगका उपाध्यक्ष डा. गिरीले नमानेपछि उपाध्यक्ष र मन्त्रालयबीच द्वन्द्व बढेको छ ।उपाध्यक्ष डा. गिरी सदस्य सचिव डा भोजराज काफ्लेको रमाना रोक्न विभिन्न निकायमा धाउनुभएको छ । मन्त्री पौडेलले सरुवा भएको कार्यालयमा जानैपर्ने अडान राखेपछि मन्त्रालयले अटेरी सहसचिव डा. काफ्लेमाथि कारबाही गर्ने विषयमा छलफल गर्ने जनाएको छ ।

विदेश भ्रमणमा रहेका सदस्य सचिव डा. काफ्ले नेपाल फर्किएपछि मन्त्रालयले स्पष्टीकरण लिने तयारी गरेको छ । शिक्षा मन्त्री पौडेलले नेपाल समाचारपत्रसँग कुरा गर्दै यस विषयमा आज आइतबार विदेश भ्रमणमा रहेका सचिव रामकृष्ण सुवेदी मन्त्रालयमा हाजिर भएपछि निर्णय हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘निर्वाचन आचारसंहिता लागु भएकोले के गर्ने ? भन्ने विषयमा निर्णय हुन बाँकी छ ।

तर, मन्त्रालयले सहसचिव डा. काफ्लेलाई आचारसंहिता लाग्नुअघि नै सरुवा गरेको हो ।’ मन्त्रालयले भदौ २० गते डा. काफ्लेलाई इभेन्ट परियोजनामा र इआरओका महानिर्देशक शिवकुमार सापकोटालाई आयोगमा सरुवा गरेको थियो ।
आयोगबाट इभेन्ट परियोजनामा सरुवा भएका सहचिव डा. काफ्लेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ को भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रदेश सचिवमा सरुवा गरिसकेको छ । सरुवा भएकामध्ये सदस्य सचिव सापकोटाले असोज ११ गते आयोगमा हाजिर गर्नुभएको थियो ।

उपाध्यक्ष डा. गिरीले सदस्य सचिव सापकोटालाई कुनै पनि हालतमा हाजिर गराउन चाहनुभएको छैन । प्रदेश–१ सरुवा भैसकेका डा. काफ्लेले भने उपसचिव अनुपचन्द्र श्रेष्ठलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिनुभएको छ ।आयोग, मन्त्रालय र सचिवबीच द्वन्द्व बढेको कारण गएको मंगलबारदेखि आयोगको काम हुन सकेको छैन । आयोगका कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘उपाध्यक्षको निर्णयलाई सहर्ष स्विकार्ने निर्देशकले उपाध्यक्षको विरुद्धमा केही बोल्ने आँट गर्न सक्दैनन् । उपाध्यक्ष आएपछि अधिकांश निर्देशक उहासँगै कार्यालय प्रवेश गर्ने गरेका छन् ।’

उपाध्यक्ष डा. गिरीले आफूलाई कर्मचारीले असहयोग गरेको भन्दै विभिन्न निकाय गुहार्दै हिड्नुभएको छ । त्यहीका एक कर्मचारी भन्छन्– ‘उपाध्यक्ष डा. गिरीसँग कर्मचारीको बोल्चाल बन्द छ । आवश्यक परे प्रवक्ता सेमन्त कोइरालालाई बोलाउनुहुन्छ नभए कोहीसँग नबोली घर फर्कने गर्नुभएको छ ।’

यसअघि मन्त्रालयको सामान्य प्रशासन महाशाखाले सरुवा भएका दुवै सहसचिवलाई पत्र पठाएर संघ र प्रदेशस्तरको निर्वाचनको मिति घोषणा भई भदौ २१ गतेदेखि नै सरुवा, काज व्यवस्थापन नहुने अवस्था रहेकाले तत्काल सरुवा गरिएको कार्यालयमा हाजिर भई सोको जानकारी गराउन मन्त्रीको आदेश रहेको भन्दै निर्देशन दिएको थियो । सो निर्देशनसमेत आयोगमा सरुवा भइसकेको सदस्यसचिव डा. काफ्लेले मान्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्