मतपत्रसहित आवश्यक सामग्री जिल्ला सदरमुकाममा पठाउन शुरू



काठमाडौं  । 

आगामी मंसिर ४ गते सोमबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले मतपत्रसहित आवश्यक सामग्री जिल्ला सदरमुकाममा पठाउन थालेको छ ।

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रसहित आवश्यक सामग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयले र निर्वाचन अधिकृतको कार्यालयमा पठाउन शुरू गरेको हो । निर्वाचनका लागि समानुपातिक तर्फ ४ करोड ५५ लाख मतपत्र छापिएका छन् ।

आयोगले शुक्रबार प्रदेश १ का लागि ८ ट्रक सामान पठाएको आयोगका सचिव गोकर्णमणि दुवाडीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । सोलुखुम्बु, ओखलढु∙ा, सप्तरी, सिरहा, उदयपुर, धनुषासहितका आठ जिल्लामा ८ वटा ट्रकमा मतपत्र पठाएको थियो । नेपाली सेनाको विशेष सुरक्षा निगरानीमा मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । ७७ जिल्लामा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृत कार्यालयले निर्वाचन कार्यक्रमदेखि लिएर स्थलगत व्यवस्थापनको तयारी गरिरहेको छ ।

आयोगका अनुसार असोज ३१ गतेभित्र ३५ जिल्लामा मतपत्र ढुवानी गरिसक्नेछ । कात्तिक पहिलो साताभित्र समानुपातिकतर्फको मतपत्र सबै जिल्लामा पुगिसक्ने पनि आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेसँगै उम्मेदवारको चिह्न मात्र समावेश गरी आयोगले प्रत्यक्षतर्फको पनि मतपत्र छपाई थालिसकेको छ ।

तीनवटा निर्वाचन चिह्न हेरफेर

निर्वाचन आयोगले विभिन्न उम्मेदवारलाई वितरण गरेको चुनाव चिह्नमध्ये तीन वटामा हेरफेर गरेको छ ।
आयोगले शनिबार विज्ञप्ति जारी गर्दै ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरिएको जनाएको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा हेरफेर गरिएको हो ।निर्वाचन आयोगको अभिलेख र निर्देशिकामा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएकोे उक्त निर्णय गरिएको आयोगले जनाएको छ ।

उक्त निर्णयबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को अनुसूची २९ को क्रम संख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र अनुसूची– ३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिह्नअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिह्नमा हेरफेर गरिएको छ ।हेरफेर गरिएका निर्वाचन चिह्नसहितको विवरण आयोगको वेभ साइटमा राखिएकोे आयोगका प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्