ओलीको असंवैधानिक कदमको विरोध गर्दा टिकट पाईनँ : नेता भीम रावल



काठमाडौं । नेकपा (एमाले)का डा.नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्दा टिकट नपाएको बताउनुभएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेकै कारण आफुले टिकट नपाएको बताउनुभएको हो ।

रावलले भन्नुभयो,’ पार्टी अध्यक्षले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको मैले विरोध गरेँ, जसकारण जिल्लाबाट सिफारिस हुँदा पनि केन्द्रले मलाई प्रतिनिधिसभा निर्वाचनको लागि टिकट दिईएनँ ।’

उहाँले पार्टीभित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताउनुभयो । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाउनुभयो । उहाँले एमालेको चिह्नमा अन्य पार्टीका नेतालाई उम्मेदवार बनाउने निर्णय तथा तालमेलको खुलेर आलोचना गर्नुभएको छ ।

रावलले अध्यक्ष ओलीमाथि दर्जन आरोप लगाउँदै १९ पृष्ठको प्रतिवेदन नै तयार पार्नुभएको छ । उहाँको प्रतिवेदनमा लेख्नुभएको छ, ‘युनिफिकेशन चर्चसँग आबद्ध होलिवाइन भनी चिनिएका एकनाथ ढकालको समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्य सुनिश्चित गर्ने, निरंकुश व्यवस्थामा नेकपा (एमाले) का नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौंडामा उम्मेदवार बनाउने, आफैंले प्रतिक्रियावादी भनेको राप्रपा तथां अध्यक्ष ओली र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुस्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिवस एवं एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसहरुलाई बिहान पार्टी प्रवेश गराएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका अनेकौं कर्म र कुकर्म गरेकाहरुलाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासन भित्र पर्छ ? के यस्तै पार्टी र व्यक्तिहरुलाई प्रश्रय दिएर समाजवाद आउँछ ?’, रावलको प्रश्न छ । दर्जन आरोप सहित प्रतिवेदन सार्वजनिक गर्नुभएका रावलले नेकपा एमाले भने नछाड्ने प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्