रुपन्देही क्षेत्र नम्बर-२ का निर्वाचन अधिकृत परिवर्तन गर्न गठबन्धनको माग

0
Shares

बुटवल । सत्ता गठबन्धनमा आवद्ध दलहरुले रुपन्देही क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृतलाई परिवर्तन गरी उहाँको ठाउँमा अन्य अधिकृत खटाउन माग गरेका छन् । क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत उदवीर नेपालीका कतिपय निर्णय राजनीतिक पूर्वाग्रही रहेको पाइएको भन्दै गठबन्धनमा आबद्ध दलहरुले नेपालीलाई हटाउन माग गरेका हुन् ।

आज (बुधबार) रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालामार्फत निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेका क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा (एकीकृत समाजवादी)का नेता चीनबहादुर गुरुङ, जनमोर्चा नेपालका पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य हरि घर्तीमगरले नेपालीलाई तत्काल हटाउन माग गरेका हुन् ।

उनीहरुले अदालतमा मुद्दा विचारधीन रहेको पत्र अदालतले निर्वाचन आयोगलाई पठाउँदासमेत त्यसको बेवास्ता गरि क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी रद्ध गरिएको जनाएका छन् । यस्तै, दलहरुले हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) ले पुरस्कार पाए वापत भनेर उम्मेदवारी रद्ध गरिएकाले त्यो पनि गैरकानूनी भएको जनाएका छन् ।

दलहरुले बुझाएको ज्ञापन पत्रमा बृद्धभत्ता, एकल महिला भत्ता, पेन्सन नपाउने र बेरोजगारले मात्र चुनाव लड्ने हो र ? मुद्दाले दोषी ठहर नगरी अदालतको मानहानी गर्ने, जनताको मौलिक अधिकारप्रति अंकुश लगाउने काम गर्न निर्वाचन आयोगलाई मिल्छ र ? भन्ने प्रश्न समेत गरेका छन् ।

दलहरुले क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नेपाली राष्ट्रिय सभा अध्यक्षका निजी सचिवालयबाट आएकाले उहाँले गराउने निर्वाचन निष्पक्ष हुनेमा शंका गरेका छन् । ज्ञापन पत्रमा भनिएको छ, ‘उहाँको निष्पक्षतामा विश्वास गर्न सकिँदैन, त्यसैले नेपालीलाई हटाई उहाँको स्थानमा अरु पठाउने र क्षेत्र नम्बर २ को निर्णय सच्याउन निवेदन गर्दछौं ।’
ज्ञापन पत्र बुझ्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कोइरालाले दलहरुले बुझाएको ज्ञापनपत्र निर्वाचन आयोगमा पठाउने र समस्या समाधानमा आफ्नातर्फबाट सहजीकरण हुने बताउनु भयो ।

Skip This