होटेल क्राउन प्लाजामा शंकास्पद घटना : युवतीको मृत्यु, २ पक्राउ



काठमाडौं ।

काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा भएको शंकास्पद घटनापछि एक युवतीको मृत्यु भएको छ । चाबहिल बस्दै आएकी २३ वर्षीया युवतीको आगोबाट जलेर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान होटेलमा  शंकास्पद घटना भएपछि सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका-१४ का २६ वर्षीय केशव रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

होटेलमा आगोबाट जलेर घाइते भएपछि केशव रिजालले ती युवतीलाई वीर अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार असम्भव भएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो ।

कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ती युवतीको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीहरूलाई काठमाडौं प्रहरी वृत्त मालीगाउँको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्