जीवित देवदेवीबाट टिका ग्रहण गरी श्रीखण्ड तरुमूल महाविहारले मनायो दशैं



काठमाडौं । काठमाडौंको विहारमध्ये हजारौं वर्ष पूरानो कुमारी घरसँगै रहेको श्रीखण्ड तरुमूल महाविहारका सदस्यहरूले शनिबार जीवित देवदेवी गणेश, भैरब र कुमारीको हातबाट टिका ग्रहण गरेर यो वर्षको दशैं मनाएको छ ।

श्रीखण्ड तरुमूल महाविहार संरक्षण तथा संचालन समितिको आयोजनामा उक्त महाविहारका सदस्यहरूले परम्परागत नेवारी बाजागाजासहित नगर परिक्रमा गरी जीवित देवदेवी गणेश, भैरब र कुमारीको पूजाअर्चना गरी टिका ग्रहण गरेका हुन् ।

चन्द्रमासमा आधारित पात्रो अनुसार कौला महिना वर्षको अन्तिम महिना भएकोले यो दिन वर्षभरि गरिएको राम्रो कामलाई निरन्तरता दिन सकियोस् भनेर र भूलबस हुन पुगेका नराम्रा कामहरूका लागि क्षमायाचना गर्दै नयाँ वर्षको शुरुवात गर्ने प्रचलनअनुसार महाविहारले गणेश, भैरब र कुमारीको हातबाट टिका थाप्ने कार्य गरिएको बज्रयान महासंघका अध्यक्ष राजेन्द्र बज्राचार्यले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

महाविहार संरक्षण तथा संचालन समितिका सदस्य ई. दिल्लीरत्न शाक्यले काठमाडौंका जीवित देवदेवीको हातबाट दशैंको टिका ग्रहण गरी महान चाड दशैंलाई अझै उल्लासमय बनाउन समितिले गत वर्षदेखि दशैंमा गणेश, भैरब र कुमारीको पूजाअर्चना गरी ती जीवित देवदेबीको हातबाट टिका थाप्ने कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो ।

करिब ७ सय सदस्य रहेको उक्त महाविहारको स्थापना काष्ठमण्डपको निर्माणमा विशेष योगदान दिएका प्रख्यात बौद्ध सिद्धाचार्य लिलाबज्र बज्राचार्यले सातौं शताब्दीमा गरेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्