नेपालले अमेरिकासँग गर्दैछ द्विपक्षीय हवाई सम्झौता



काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग हवाई सम्झौताको तयारी गरेको हो ।

अमेरिकालगायत विभिन्न मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौताका लागि आवश्यक प्रक्रिया अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखा प्रमुख एवम् सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अमेरिकाले हवाई सम्झौताका लागि चासो देखाएको छ । त्यस मुलुकसँग छिट्टै हवाई सम्झौता गर्ने तयारीमा छौँ ।”

नेपालले हाल ४० देश र युरोपेली सङ्घ ९इयु० गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सरकारले पछिल्लो पटक अष्ट्रेलियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको थियो ।

अमेरिकासँगको हवाई सम्झौतापछि अमेरिकाको युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स, नेपालका तर्फबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सले उडान गर्न सक्ने जनाइएको छ । हाल नेपालमा टर्किस एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, थाई एयरलगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्