निरन्तरको वर्षाले नरैनापुरमा दुई सय घर पूर्ण क्षति, हजारौँ स्थानीय प्रभावित



बाँके । मंगलबार देखि लगातारको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । उक्त गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ भने छ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाको विपत शाखाले जनाएको छ ।

लगातारको वर्षाले गर्दा नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा पहाडको पानी पस्दा भएको डुबानले करिब छ हजार स्थानीय प्रभावित भएको पालिकाका सूचना अधिकारी एंव विपत शाखाको प्रमुख समेत रहनु भएका लक्ष्मीकान्त मिश्राले बताउनुभयो ।

पालिकाका ६ वटै वडाका अधिकांश गाउँ जलमग्न भई धेरैको घरमा बुधबारदेखि नै खाना पाक्न नसकेको सूचना अधिकारी मिश्राले जानकारी दिनुभयो ।

बाढी र डुबान पीडितका लागि तत्काल खाद्य वस्तुको आवश्यकता परेकाले आवश्यक सामग्री उपलब्ध गराउन जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरिएको अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । अध्यक्षले भन्नुभयो, “राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले नरैनापुरवासीलाई प्रभावित गरेको छ ।”

शुक्रबार बाढी पिडितहरुसँग भेटगरी पालिकाका तर्फबाट आवश्यक राहात उपलब्ध गराउने बताउँदै सबैलाई सचेत भएर बस्न अध्यक्ष शाहले आग्रह गर्नुभयो ।

समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नु परेको बताउँदै अध्यक्ष शाहले नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका केही बाँकी रहेको खेतीपाती पनि सखाप पारेको बताउनुभयो । उहाँले सुख्खा ग्रस्त क्षेत्र घोषण हुँदा समेत संघीय र प्रदेश सरकारले जनतालाई राहात दिन नसकेको प्रति आक्रोश व्यक्त गर्दै बाढी पिडितहरुलाई भोकमरी हुनबाट बचाउन पहल गर्न सम्बन्धी पक्षहरुसँग अपिल गर्नुभयो ।

गाउँपालिकाको वडा १ बनियाँ गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा वडा ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको गाउँपालिकाले जनाएको छ ।

वडा नं. ३ का अध्यक्ष अजय मिश्राले घरमा रहेका सबै सामान भिजेर बेहाल भएको बताउदै पानी नरोकिए प्रभावितको संख्यामा बृद्धि हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्