अनुदानको मलमा कालोबजारी



 वीरगन्ज । 

पर्साको ग्रामीण भेगमा सरकारी अनुदानको मल कालोबजारी गरी बेच्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका–३ बडनिहार बजारको दुई पसलबाट सरकारी अनुदानको २७ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कृषि सामग्री कम्पनीले किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थालाई वितरण गरेको युरिया र डीएपी मल निजी पसलमा राखेर बेच्ने क्रममा प्रहरीले २७ बोरा मलसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बाराको जितपुरबाट आएको ना२ह ३२६४ नम्बरको अटोले बडनिहार बजारमा रहेको जय प्रकाश थारूको पसलमा झारिरहेका बेला स्थानीय युवाहरूले १० बोरा युरिया मलसहित उक्त अटो नियन्त्रणमा लिएर बडनिहार प्रहरी चौकीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै बडनिहार प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले थारूको पसलमा छापा मार्दा अटोमा रहेको १० बोरा र पसलमा रहेको ४ बोरा गरी १४ बोरा युरिया मल र अटो चालक राजकिशोर साहलाई नियन्त्रणमा लिएको हो ।

पसल सञ्चालक थारू भने फरार भए । त्यसपछि बडनिहारमै रहेको नेत्रप्रसाद पौडेलको पसलमा प्रहरीले खानतलास गर्दा उक्त पसलबाट पनि ४ बोरा डीएपी र ९ बोरा युरिया गरी १३ बोरा अनुदानको मलसहित पसल सञ्चालक पौडेललाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पसल सञ्चालक पौडेल र अटो चालक साहसहित २७ बोरा मल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको र फरार रहेका अर्का पसल सञ्चालक थारूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिनुभयो ।

कृषि सामग्री लिमिटेडको सरकारी अनुदानको मल पालिकाले तोकेको कृषि सहकारी संस्थाबाट बिक्रीवितरण गर्नु पर्ने भए तापनि किसानले अहिले मल नपाई रहेको अवस्थामा बिचौलियाहरूको माध्यमबाट ग्रामीण भेगमा रहेका पसलेहरूले अहिले प्रतिबोरा युरिया मल २ हजारदेखि २२ सय रुपियाँमा बिक्री गरेर कालोबजारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्