जिल्ला प्रशासनले यसरी गर्दैछ दशैँको पूर्व तयारी



पलाञ्चोक भगवति मन्दिर सरसफाई
दैनिक बजार अनुगमन
यात्रु सहायत कक्ष स्थापना

काभ्रे । ऐतिहासिक पलाञ्चोक भगवती मन्दिर परिसर सरसफाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको टोलीले मन्दिर परिसर सरसफाई गरेको हो । पलाञ्चोक भगवती मन्दिर ब्यवस्थापन समितिले सरसफाई कार्यमा संयोजन गरेको हो ।

हरेक वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले पलाञ्चोक भगवती मन्दिरमा दर्शन गर्दै आउनु भएको छ । पाँचखाल नगरपालिकामा पर्ने उक्त मन्दिर परिसरमा सरसफाईका लागि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, कालीजंग गणका गणपति कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, राष्ट्रिय अनुसन्धानका प्रमुख नगेन्द्र दाहाल, शसस्त्र प्रहरी बल १५ नम्वर गणका केशवराज प्याकुरेल, नगर उपप्रमुख सुर्यमाया दनुवार, वडा अध्यक्ष रामकाजी श्रेष्ठ, पुजारी शैलेश्वर बज्राचार्य, प्रहरी निरिक्षक सुरेश थापा, जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत परशुराम थापा लगायतको सहभागिता रहेको थियो । यो वर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीले पलाञ्चोक भगवति मन्दिरको दर्शन गर्ने सम्भावना छ ।

पाँचखालका ५१ वटा पसल अनुगमन

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजनमा पाँचखालका ५१ वटा पसल अनुगमन भएको छ । पाँचखाल ९ पलाञ्चोक भगवति मन्दिर नजिकै रहेको पलाञ्चोक मेडिकल हल दर्ता नभई संचालन भएको अनुगमनका क्रममा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । उक्त पसलमा अनुगमनका क्रममा ताला लगाईएको छ ।

अनुगमनका क्रममा दर्ता, नविकरण, मुल्य सूची, होटल ब्यवसायका लागि आवश्यक पर्ने खाद्य गुणस्तर, सरसफाईमा ध्यान दिन निर्देशन दिदै दर्ता नभएका पसलहरुलाई दर्ता गर्न र नविकरण सकिएका पसलहरुलाई तत्कालै नविकरण गरी कानुनी दायरामा आउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो ।

अनुगमनका क्रममा खाद्यान्न पसल १० वटा, होटल १६ वटा, मडिकल २ वटा, भेटेरीनरी एक वटा, फलफुल पसल २, मासु पसल ४, सुन चाँदी ज्वेलर्स १, मार्ट १, डेरी १, फर्निचर २, टेलर्स ४, इलेक्ट्रिोनिक्स २, फेन्सि २, मदिरा १, कस्मेटिक १, प्लास्टिक तथा भाडा पसल एक वटा गरी ५१ वटा पसलको अनुगमन गरिएको छ ।

दैनिक पसल अनुगमन गरिने तयारीका साथ स्थानीय सरकारसँगको समन्वमा विभिन्न क्षेत्रमा बजार अनुगमन भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । आईतबार नै बनेपामा बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटाको नेतृत्वमा ५० वटा भन्दा धेरै पसलमा अनुमगन गरिएको छ । अनुगमनका क्रममा खाद्यान्न पसलहरुमा म्याद सकिएका सामानहरु फेला परेका छन् । उक्त सामानहरु नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

यात्रु सहायता कक्ष स्थापना

विजया दशमी लगायतका चाडपर्वहरुमा यात्रुहरुको चाप धेरै हुने भएकाले यात्रुहरुलाई आई पर्ने समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अरनिको तथा विपी राजमार्गका मुख्य मुख्य चोकहरु तथा शहरका मुख्य मुख्य स्थानमा यात्रु सहायता कक्ष निर्माण गरी कुन कुन दुरीमा कति भाडा दर निर्धारण भएको छ सो को विवरण समेत टाँस गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा अनलाई टिकेटिङ र कोभिड सम्वन्धी स्वास्थ्य मापदण्ड पालना गरी÷गराई यात्रा ब्यवस्थावन गर्ने, सडक दुर्घटना न्यूनिकरणको प्रयास गर्न आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।

यात्रु ओसारपसार गर्न सार्वजनिक यातायातमा एसएमसी अथार्त मास्क लगायतका यात्रुलाई मात्र चढाउने, सवारी साधनमा स्यानिटारजर अनिवार्य राख्ने, यात्रुहरुलाई सामाजिक दुरी कायम गरी ब्यवस्थापन मिलाउने, सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन प्रहरी, ट्राफिक कार्यालयले यात्रु सहायता कक्ष संचालन गर्ने निर्णय गरेको छ भने यातायात ब्यवसायीहरुले भाडादर सार्वजनिक गर्ने निर्णय भएको छ । बैठकमा जिल्लाबाट संचालन हुने विभिन्न यातायात समितिका प्रतिनिधिहरु सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्