सूचना ‘ब्याकअप’ मा लागेको आगो नियन्त्रणमा



हेटौंडा । देशभरका सरकारी सूचना ‘ब्याकअप’ गर्न हेटौंडामा स्थापना गरिएको डाटा रिकभरी सेन्टरमा लागेको आगो करिब २ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।

हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरमा रहेको सूचनाप्रविधि केन्द्रअन्तर्गत् डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको थियो । आइतबार दिउ“सो करिब पौने ३ बजे लागेको आगो पौने ५ बजे नियन्त्रणमा आएको हो ।

आगलागीका कारण कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गरिएको जानकारी दिइएको छ । आगलागीबाट केकति क्षति भएको छ भन्ने थाहा भएको छैन । कार्यालयबाट हुने सबै सेवा हाललाई अवरुद्ध भएको छ । धेरै सरकारी कार्यालयको सर्वर डाउन हुन सक्छन् ।

आगो निभाउन गएको हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, वागमती प्रदेश प्रहरी कार्यालयको टोलीले आगो नियन्त्रणमा लिएको थियो । केन्द्रको ब्याट्री ब्याकपमा करेन्ट सर्ट भएर आगलागी भएको मकवानपुर प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो । घटनास्थलमा वडा प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको टोली खटिएको थियो । आगलागी कारण कतिपय सरकारी अनलाइन सेवा तथा सूचना प्रणालीमा असर पर्नसक्ने देखिएको छ ।

आगलागीपछि काठमाडौंका प्राविधिक टोली हेटौंडा आउने भएको छ । क्षतिको पूरा विवरण आएको छैन । धेरै सेवा र सूचनाको ब्याकअप सिंहदरबारमा छ । तर, आगलागीबाट वागमती प्रदेशका कतिपय सेवामा असर गर्नसक्ने आ“कलन गरिएको छ ।

काठमाडौंमा मात्र रहेको नेपालको एकमात्र सूचनाप्रविधि केन्द्र (डाटा सेन्टर) को विकल्पका रुपमा हेटौंडामा डिजास्टर रिकभरी सेन्टर सञ्चालन गरिएको छ । दक्षिण कोरियाको कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत् ४.६ मिलियन डलर सहयोगमा डाटा सेन्टर स्थापना गरिएको हो । डाटा सेन्टरले सरकारी तथा गैरसरकारी सूचनाको संग्रहालयका रुपमा काम गर्ने गरी कोरियाली सहयोग नियोगस“ग अर्थ मन्त्रालयले सम्झौता गरेको थियो ।

नगर विकास समितिको ८ कठ्ठा ४ धुर जमिनमा २०७२ असोज १३ गते निर्माण सुरु गरिएको भवन २०७३ पुस १६ गते निर्माणसम्पन्न गर्ने लक्ष्य रहे पनि २०७२ को भुकम्प र नाकाबन्दीलगायत समस्याले समयमा निर्माण सम्पन्न गर्न सकिएको थिएन ।

भौगोलिक विकटता, प्राकृतिक विपत्ति, आगलागी र भुकम्पलगायत कारण सरकारी सूचना र तथ्यांक सुरक्षित गर्न डिजास्टर रिकभरी सेन्टर सञ्चालन गरिएको हो । सबै सरकारी कार्यालयले प्रयोग गर्न मिल्ने गरी राष्ट्रियस्तरमा उच्चस्तरको डाटा सेन्टर सञ्चालनमा ल्याइएको छ । नेपाल र कोरिया सरकारबीच २०७१ बैशाख ३१ गते डाटा सेन्टर निर्माण गर्ने सम्झौता भएको थियो ।

मुलुकका महत्वपूर्ण डाटा जस्तोसुकै प्राकृतिक प्रकोप, मानवीय त्रुटिमा समेत नष्ट नहोस् भनेर रिकभरी साइट बनाइएको हो । यस्ता साइट मुख्य डाटा सेन्टर स्थापनाका लागि केन्द्रबाट टाढा, फरक भौगोलिक वातावरण, पूर्वाधार सुबिधा पुगेको स्थान आवश्यक पर्ने भएकाले हेटौंडालाई रोजिएको हो ।

केन्द्र राख्न पोखरालाई बैकल्पिक स्थान छानिए पनि काठमाडौं र पोखराबीच धेरै कुरामा समान भौगोलिक क्षेत्र, एकमात्र स्थलमार्ग र कमजोर भूधरातलीय बनौट भएकाले हेटौंडा उपयुक्त देखिएको थियो । काठमाडौंको केन्द्रमा सुरक्षा सबल र २४ सै घण्टा विद्युत् आपूर्ति सेवा उपलब्ध भए पनि भुकम्पीय जोखिमबाट तथ्यांकलाई सुरक्षित राख्न काठमाडौंभन्दा फरक भूधरातल तर काठमाडौंबाट सहज आवागमनको ठाउ“ भएकाले अन्यत्रभन्दा हेटौंडा उपयोगी हुने देखिएको थियो ।

नागरिकका सम्पूर्ण सूचना केन्द्रिकृत हुने केन्द्रमा स्मार्टकार्ड, भूमि सुधारसम्बन्धि कागजपत्र, लोकसेवा, चालक अनुमतिपत्र, भन्सार, एमआरपीलगायत राज्यका अतिआवश्यक तथ्य र तथ्यांक संग्रह गरिएका छन् । यस्ता तथ्यांकहरु राज्य र नागरिकको अमूल्य सम्पत्ति हुने हु“दा एक ठाउ“मा कारणवश क्षति पुगे प्रशस्त नोक्सानी सहनुपर्ने भएकाले विशेषतः काठमाडौंमा हुनसक्ने भुकम्पीय जोखिमबाट तथ्यांक सुरक्षित राख्न हेटौंडामा एकीकृत सूचना केन्द्र राख्न पहल गरिएको थियो । डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, इप्रोक्युरमेन्ट, विद्युतीय हस्ताक्षर, इकस्टमलगायत ईसेवा सञ्चालन छन् ।

प्राकृतिक वा मानवसृजित विपत्तिको समयमा सिंहदरबारस्थित राष्ट्रिय सूचनाप्रविधि केन्द्रमा रहेका सरकारी तथ्यांक एवम् सूचना नाश हुनबाट जोगाउने केन्द्र निर्माणका लागि कोरियाले सहयोग गरेको हो । सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रले समेत प्रयोग गर्नसक्ने तथ्यांक र सोसम्बन्धि सूचना एकीकृत गर्ने उद्धेश्य राखेर विज्ञान तथा प्रविधि मन्त्रालयले कोइकाको सहयोगमा केन्द्र स्थापनाका लागि जग्गा छनौट गरेका थिए । देशमा विद्युतीय सुशासनको अवधारणा लागु भइसकेको सन्दर्भमा राष्ट्रिय सूचनाप्रविधि केन्द्रले हेटौंडामा एकीकृत सूचना केन्द्र स्थापना गरेको हो ।

प्रहरी र सेनाको सेन्ट्रीपोष्ट, उच्च सुरक्षित भवन, कोलाहलमुक्त वातावरण, विद्युत्को दोहोरो फिडर सुबिधा र वैकल्पिक विद्युत् प्रणाली स्थापनाका लागि फराकिलो क्षेत्रमा केन्द्र निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्