दुई वर्षिया बालिका  वाल क्यान्सर सचेतना कार्यक्रमको प्रमुख अतिथि

‘वाल क्यान्सर रोग ८० प्रतिशत निको हुन्छ’



काठमाडौं ।

क्यान्सर लागेर निको भएका र उपचारका क्रममा रहेका बालबालिका र उनीहरूका अभिभावकहरूलाई सहभागी गराई शुक्रवार समयमै क्यान्सर पत्ता लगाई उपचार गरेमा वाल क्यान्सर रोग ८० प्रतिशतसम्म निको हुने बताइयो ।


वाल क्यान्सर सचेतना कार्यक्रमको प्रमुख अतिथि देब्रे आँखाको क्यान्सर भएर उपचारपछि निको भएकी २ वर्षिया वालिका युनिषा बमजन थिइन् । तीन महिनाको उमेरमा उनको आँखामा क्यान्सर भएको पत्ता लागेर उपचार गरेपछि डेढ वर्षको उमेरमा उनी पुर्ण स्वस्थ भई सकेकी थिइन् । तिनै वालिकाले क्यान्सर भएर पुर्न जीवन पाएका आफूजस्तै बालबालिका र किशोर किशोरीमध्ये कार्यक्रममा उपस्थित भएका ५० जना बालबालिकासँग मिलेर केक काटिन् ।

नेपाल क्यान्सर सहयोग समूह, उपचारका लागि सहयोगी हातहरू, रोटरी क्लब अफ यल तथा सुदिप्त क्यान्सर भर्साईभर समूहको संयुक्त आयोजनामा भएको ‘३५ औँ सुदिप्त क्यान्सर भर्साईभर मिट’ मा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी वाल क्यान्सर रोग विशेषज्ञ डा.अञ्जली पण्डितले समयमै उपचार गरेकोले क्यान्सर रोग लागेका ८० प्रतिशत भन्दा बढी बालबालिका निको भएर आफ्नो नियमित जीवनचर्यामा फर्किएको बताइन् ।

नेपाल क्यान्सर सहयोग समूहकी कार्यक्रम संयोजक एवम् नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी निर्देशक स्वरुपा श्रेष्ठले हरेक महिना क्यान्सर बारे जनचेतना फैलाउँदै आएको संस्थाले वालवालकिालाई लाग्ने क्यान्सर मात्रै नभई सबै प्रकारको क्यान्सर समयमै पत्ता लगाई उपचार गर्न सके रोग निको हुने बताइन् । नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष गणेशभक्त श्रेष्ठले क्यान्सरलाई जितेकाहरुको भेटघाट गरी आफ्नो अनुभव आदानप्रदान गर्ने थलो नै सुदिप्त क्यान्सर भर्साईभर मिट भएको प्रस्ट पारे ।

वाल क्यान्सर रोग विशेषज्ञ डा.पण्डितका अनुसार नेपाल क्यान्सर हस्पिटलमा वाल क्यान्सर रोग उपचार सुरु गरेको १० वर्षको अवधिमा उपचार गरेका वाल क्यान्सर रोगी मध्ये रक्त क्यान्सर, ब्रेन ट्युमर र ग्रन्थिको क्यान्सर (लिम्फोमा) भएका बालबालिकाको ८० प्रतिशत उपचार सफल भएको बताइन् ।

कार्यक्रममा क्यान्सर जितेका बालबालिकाले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने आयोजकको तर्फबाट उनीहरूलाई केक, चकलेट र उपहार दिइएको थियो । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा विगत १० वर्षदेखि वरिष्ठ वाल क्यान्सर रोग विशेषज्ञ डा.प्रकाश निधि तिवारी तथा डा.अञ्जली पण्डितसहितको टोली उपचारमा संलग्न रहेको छ ।

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठका अनुसार रक्त क्यान्सर र बोन म्यारो क्यान्सरका बिरामीहरूको लागि अस्पतालले २०७९ सालभित्रै अस्पतालमा रगत प्रत्यारोपणको कार्य गर्ने तयारी गरिराखेको छ । कार्यक्रम श्रेया श्रेष्ठले पनि वाल क्यान्सर रोग र यसको उपचारबारे जनचेतना फैलाउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्