दशैं बजारलक्षित चौपायाको स्वास्थ्य परीक्षण शुरू हुँदै

सिङमा हरियो रङ भएको चौपाया मात्र किन्न कामपाको आग्रह



काठमाडौं । 

काठमाडाैं महानगरपालिकाले राजधानीवासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने कामपा जनस्वाथ्य महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार आज आइतबार बस्ने बैठकले त्यस विषयमा निर्णय गर्नेछ । कामपाले सबै स्थलमा छुट्टाछुट्टै समूह बनाएर अनुगमन गर्ने भएको छ । कामपाले कलंकी, बिजुलीबजार र बागबजार खसी बजारमा समेत अनुगमन गर्ने तयारी गरेको छ । महानगरवासीलाई स्वस्थ्य मासु खुवाउने योजनासहित त्यस्ता चौपायाको अनुगमन गर्न लागिएको जिकिर गर्दै वरिष्ठ पशु चिकित्सक डा. झाले भन्नुभयो– ‘प्रत्येक स्थानमा पशु चिकित्सक र सहायक पशु चिकित्सकसहित ७ जनाको टोलीले परीक्षण गर्ने तयारी गरेका छौं ।’

कामपाका प्रवक्ता नवीन मानन्धरले विगत वर्षको भन्दा यो वर्ष थप व्यवस्थित रूपमा स्वास्थ्य परीक्षण र बजार अनुगमन गर्ने जानकारी दिँदै भन्नुभयो– ‘सकेसम्म चौपाया भित्रिने सबै नाकामा अनुमगन गर्ने तयारी थालेका छांै । चौपाया मात्र होइन, अन्य क्षेत्रमा पनि अनुगमन गर्नेछौं ।’ करिब एक साताअघि बसेको कामपाको बैठकमा बजार अनुगमन गर्ने विषयमा पनि छलफल भएको बताउँदै उहाँले भन्नुभयो– ‘दशैं आउन दुई दिन मात्रै बाँकी छ, हामीले चौपायादेखि सबै प्रकारका बजार अनुगमनलाई तीव्रता दिनेछौं ।’

कामपाले आफूसँग मासु निरीक्षक नभएको कारण दशैंमा मात्रै चौपायाको स्वाथ्य परीक्षण गर्ने गरेको छ । कामपा जनस्वाथ्य महाशाखा प्रमुख डा. झाले संघले मात्र मासु परीक्षक राख्ने व्यवस्था भएको कारण कामपाले व्यवस्था नगरेको बताउनुभयो । कामपाले चौपायाको स्वास्थ्य परीक्षण अवधिभर ४ जना पशु चिकित्सक राख्नेछ । मासु निरीक्षकको अभावमा राजधानीवासीले कस्तो मासु खाने गरेको भन्ने विषयमा कुनै जानकारी पाउन नसकेको अवस्थामा कामपाले दशैंमा भने चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ?

कामपाले दशैंमा भित्रिने खसीबोका, भेडा च्याङग्रा वितरण स्थलको अनुगमन तथा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत प्रदेश र संघ सरकारसहितको संयोजनमा पशु चिकित्सकसहितको टोलीले चौपाया परीक्षण गर्ने बताएको छ ।

कामपा जनस्वाथ्य विभाग प्रमुख बलराम त्रिपाठीले सकभर आज आइतबार बिहान बैठक बसेर आजै वा भोलि सोमबारबाट नियमित परीक्षण गर्ने जानकारी दिनुभयो । चौपाया बिक्री स्थान र मासु पसल, वधशालालगायतका स्थानमा समेत अनुगमन गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘हामीले दशैंको समयमा आकस्मिक अनुगमनसमेत गर्ने योजना बनाएका छौं ।’

महानगरले चौपाया बिक्रीस्थलमै आइसोलेसन सेन्टर बनाउने र तत्काल उपचार सम्भव भएका चौपायाको सोही स्थानमा स्वाथ्य परीक्षण र उपचार गर्ने तयारी पनि गरेको छ ।कामपाले स्वास्थ्य परीक्षण नगरेको चौपाया खरिद नगर्न र खान योग्य भनेर सिफारिस गरिएको हरियो रङ लगाएको चौपाया मात्र खरिद गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्