सवारी दुर्घटनामा चार जनाको मृत्यु



काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । हिजो (शुक्रबार) राति र आज (शनिबार) मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

झापा मेचीनगर नगरपालिका–१२ पिपल डाँगीमा एकआपसमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । प्र.१–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र प्र.१–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका प्र.१–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल चालक कन्काई नगरपालिका–४ बस्ने ३८ वर्षीय कृष्ण प्रसाद सिग्देलको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै प्र.१–०१–०१४ प २६७८ मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–४ बस्ने ४५ वर्षीय विष्णु थापाको बिएण्डबी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका प्र.१–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका–५ खैरीमा लु.५७ प ५८०३ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०१ ०२५ च ९२४४ नम्बरको पिकअप गाडी एकआपसमा ठोक्किएर आज (शनिबार) बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची सितगंगा नगरपालिका–१० बस्ने ४५ वर्षीय चन्द्रमणी ज्ञावलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी कपिलवस्तु, शिवराज नगरपालिका–३ नहर चोकमा ना.८ ख ३८२९ नम्बरको कन्टेनर ट्रकको ठक्करबाट पैदलयात्री गुल्मी घर भएका ३४ वर्षीय बम बहादुर थापाको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते भएकी मृतककी छोरी ३ वर्षीया अनु थापालाई सोही अस्पताल हुँदै थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्