विकास र अनुभवद्वारा राष्ट्रिय किर्तिमान



काठमाडौं ।

प्रदेश नं. १ का विकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान राखेका छन् ।

विकासले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३१.०५ सेकेन्डको राष्ट्रिय कीर्तिमान रच्दा अनुभवले १ सय मिटर बटरफ्लाईमा ५९ः०० सेकेन्डको राष्ट्रिय कीर्तिमान राखेका हुन् । २५ मिटर स्विमिङ पुलअन्तर्गत छोटो दुरीको प्रतियोगितामा यस अघि दुवै विधामा सयद हम्जा शाहको नाममा राष्ट्रिय किर्तिमान रहेको थियो । शाहले आठौं राष्ट्रिय खेलकुदमा ५० मिटर ब्रेष्टस्ट्रोकमा ३१.५५ सेकेन्ड र १ सय मिटर बटरफ्लाईमा १ मिनट ००ः२५ सेकेन्डको किर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

विकासले विहान भएको हिट चरणमानै शाहको नाममा रहेको किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा ३१.२६ सेकेन्डको किर्तिमान बनाउन सफल भएका थिए । ५० मिटिर ब्रेष्टस्ट्रोकमा दोश्रो स्थानमा बागमतीका सेरेन सिंह र आर्मीका अनुभव सुब्बा तेश्रो स्थानमा आए । यस्तै १ सय मिटर बटरफ्लाईमा बागमतीका एल्भिन महर्जन र पुलिसका युभान लाल श्रेष्ठ क्रमशः दोश्रो र तेश्रो स्थानमा रहेका हुन् ।

यसैगरी ४ सय मिटर फ्रिस्टायलको प्रतिस्पर्धामा पुलिसका गौरव लामाले ३ मिनट ३६.९८ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । पुलिसकै सनिलकुमार थापा र एपिएफका उर्गेन महर्जन क्रमशः दोश्रो र तेश्रो स्थानमा आए । २ सय मिटर ब्याकस्ट्रोकमा एपिएफका नेन्जिङ्ग नामदोल रायन गुरुङ्गले २ मिनट १९.११ सेकेन्डका साथ स्वर्ण पाए । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए । २ सय मिटर फ्रिस्टायलमा बागमतीका ईरभिन श्रेष्ठले २ मिनट ४.०७ सेकेन्का साथ स्वर्ण हासिल गर्दा पुलिसका सुविज्ञ मान तुलाधरले रजत र पुलिसकै गौरव लामाले कास्य पाए ।

यसैगरी १ सय मिटर ब्रेष्टस्ट्रोकमा प्रदेश १ का विकास कुमालले १ मिनट ८.४६ सेकेन्डका साथ आफ्नो प्रदेशका लागि दोश्रो स्वर्ण जोडे । बागमतीका सेरेन सिंहले रजत र एपिएफका जाडेन श्रेष्ठले कास्य पाए । ५० मिटर बटरफ्लाईमा एपिएफका तेन्जिन नामदोलले २७.२४ सेकेन्ड समयका साथ स्वर्ण हासिल गरे । यस्तै आर्मीका अनुभव सुब्बाले रजत र प्रदेश १ का विकास कुमालले कास्य पाए ।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको ५० मिटर ब्रेष्टस्ट्रोकमा आर्मीकी उपास्ती महर्जनले स्वर्ण जितिन् । उनले उक्त दुरी ३६.९० सेकेन्डमा पुरा गरिन् । प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र बागमती श्रेनु महर्जनले कास्य पाए ।

यस्तै २ सय मिटर फ्रिस्टायलमा आर्मीकी अनुसिया तण्डुकारले २ मिनट १७.०१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा पुलिसकी समिरा शोभा थापाले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य पाए । १ सय मिटर ब्रेष्टस्ट्रोकमा आर्मीकी उपास्तीले आफ्नो ब्यक्तिगत तथा आर्मीको लागी दोश्रो स्वर्ण जितिन् । उनले १ मिनट २२.९१ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् ।

यस्तै प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र एपिएफकी राभ्या श्रेष्ठले कास्य पाए । ५० मिटर बटरफ्लाईमा बागमतीकी रोशा न्यौपानेले ३३.११ सेकेन्डका साथ स्वर्ण जोडिन् । सेनाकी अनुशिया तण्डुकारले रजत र बागमतीकी टिशा महर्जनले कास्य हासिल गरे ।

प्रतिक्रिया दिनुहोस्