गोठाटार हत्याकाण्डका मुख्य योजनाकारको पहिचान खुल्यो



काठमाडाैं । 

गोठाटार हत्याकाण्डका संलग्न रहेका मुख्य योजनाकारको पहिचान भएको छ । भारतको हरियाणा घर भई काठमाडौं बस्दै आएका नितिन मदनको योजनामा उक्त हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

सोमबार साँझ गोठाटारमा भएको गोलीकाण्डमा गार्मेन्ट व्यापारी लाल मोहम्मदको मृत्यु भएको थियो । प्रहरीले उक्त घटना आपराधिक गिरोहले गराएको हुनसक्ने भन्दै अनुसन्धानको दायरालाई साँघुरो बनाएको थियो ।
उक्त घटनापछि प्रहरीले घटनास्थल क्षेत्रलाई नजिकबाट नियालेर घटनाको अनुसन्धान गरिएको अनुसन्धानमा संलग्न एक अधिकृतले नेपाल समाचारपत्रसँग भने– ‘मोहम्मदलाई गोली हानेपछि हत्याराहरू घटनास्थल नजिकै रहेको कोशीपारि गेस्ट हाउसमा गएर बसेको फेला प¥यो ।’

प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरूको बारेमा अनुसन्धान गर्ने क्रममा होटलको सीसीटिभी फुटेजसमेत मगाएर अनुसन्धान शुरू गरेको थियो । अनुसन्धानको क्रममा उक्त हत्याकाण्डका मुख्य नाइके मदन सो गेस्ट हाउसमा अर्कै व्यक्तिको नाममा बसेको फेला परेपछि प्रहरीले ती व्यक्तिका बारेमा अनुसन्धान शुरू गरेको ती अनुसन्धान अधिकृतले बताए ।

भारतीय अपराधी गिरोहसँगको सम्पर्कमा रहेका मदन राजधानीमा भएको विभिन्न अपराधमा संलग्न रहँदै आएको समेत अनुसन्धान अधिकारीले पत्ता लगाएका छन् । राजधानीको न्युरोडमा एक वर्षअघि भएको ७० लाख रुपियाँ लुटपाट समेत मदनको योजनामा भएको प्रहरीले पत्ता लगाएको छ ।

लुटपाटमा मदनको संलग्नता बारेमा यसअघि प्रहरीले कुनै सुँईको पाएको थिएनन् । प्रहरीले लुटेराको हुलियाको आधारमा बनाएको स्केच र गोेठाटार हत्याकाण्डमा होटलबाट निकालिएको सीसीटिभी फुटेजको फोटो मिलेपछि प्रहरीले थप अनुसन्धान शुरू गरेको थियो ।

प्रहरीले मदनका परिवारसंगको सम्पर्क गरी उनका बारेमा थप सूचना लिएर अनुसन्धान शुरू गरेको थियो । अनुसन्धानका क्रममा मदनले प्रयोग गर्ने मोवाइल नम्बरबाट हत्या गरिएका मोहम्मदसँग पनि पटकपटक कुराकानी भएको र भारतीय अन्डरवल्र्ड छोटा राजन समूहका नेपाल प्रतिनिधि हाल रसुवा कारागारमा रहेका उदय सेठ्ठीसँग समेत पटकपटक कुराकानी भएको पत्ता लगाएपछि अहिले अनुसन्धानलाई प्रहरीले विभिन्न कोणबाट शुरू गरेको ती अनुसन्धान अधिकारीले जानकारी दिए ।

सेठ्ठी नेपालमा भएको संगठित अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ परी हाल रसुवा कारागारमा रहेका छन् । ती अधिकारीका अनुसार सेठ्ठी र मदनबीच नियमित सम्पर्क हुने गरेको देखिएको छ । प्रहरीको टोली अहिले सेठ्ठी र मदनबीचको सम्बन्धका बारेमा सोधपुछ गर्न रसुवा गएको पनि ती अधिकारीले जानकारी दिए ।

प्रहरीले उक्त घटनामा संलग्न रहेका अन्य दुई जनाको पनि खोजीलाई तीव्र बनाएको छ । गृह मन्त्रालयले उक्त घटनाको छानबिन गर्न उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्