१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त



काठमाडौं । 

निर्वाचन आयोगले प्रतिनिधिसभासँगै प्रदेश सभातर्फ ३ सय ३० क्षेत्रका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्ति गरेको छ ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो । आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।

नियुक्ति गरिएका अधिकृतहरूलाई असोज १२ र १३ गते निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण दिने कार्यक्रम राखिएको छ । अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र प्रदान गरिने आयोगले जनाएको छ । त्यसपछि उनीहरूलाई निर्वाचन क्षेत्रमा खटाइनेछ । त्यसभन्दा अघि देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालयको स्थापना गरिनेछ ।

निर्वाचन अधिकृतहरूको काम आयोगको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको क्षेत्र भित्रको निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरीवेक्षण गरी आवश्यक निर्देशन दिने भनी उल्लेख छ । निर्वाचन अधिकृतले नै सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत लगायत अरू कर्मचारी नियुक्त गर्ने छन् ।

निर्वाचन कार्यक्रमअनुरूप उम्मेदवारको मनोनयन दर्ता, मनोनयन उपर उजुरी लिने, उजुरी उपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरूपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्