२४ घण्टामै भत्किए वीर अस्पताल अगाडिका औषधि पसलहरू



काठमाडौं  ।

काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पताल अगाडिको औषधि पसलको सटरमा डोजर चलाएको छ । कामपा २७ नम्बर वडा कार्यालयको सिफारिसमा कामपा प्रहरीले वीर अस्पताल अगाडिको ८ वटा सटर हटाएको हो । यसअघि कामपा प्रहरीले बुधबार २४ घण्टाभित्र सटर भत्काउने चेतावनी दिँदै माइकिङ गरेको थियो ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले हिजो दिउँसो २ बजे वीर अस्पताल परिसरअगाडिको सटरमा डोजर चलाएको हो । पसल सञ्चालकले तत्काल पसल हटाउन नसकिने भन्दै पसल हटाउन नचाहेपछि आफूले सामान हटाउन चेतावनी दिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले पसल हटाउन आग्रह गरी केही दिन पर्खेका थियौं, त्यसपछि डोजर चलायौं ।’

अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख भएको जिकिर गर्दै उहाँले अब उक्त स्थानमा चाँडै बगैंचा बन्ने बताउनुभयो ।कामपा–२७ का वडा अध्यक्ष योगेश खड्गीले नेपाल समाचारपत्रसँगको कुराकानीमा अवैध रूपमा फार्मेसी राखेको जानकारी पाएपछि भत्काएका दाबी गर्नुभयो । बुधबार कामपा प्रहरी प्रमुख पाण्डेसहितको टोलीले वीर अस्पतालका प्रशासन प्रमुख भुपेन्द्र बस्नेतसँग छलफल गरी ती अवैध सटरहरू भत्काउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्