मोहम्मद हत्यामा नितिन मदनको कनेक्सन कसरी सम्भव भयो ?



काठमाडौं । लाल मोहम्मदको हत्याकाण्डले तरंग फैलाएको छ । हरिवन नगरपालिका–२, सर्लाहीका मोहम्मद गत सोमबार साँझ गार्मेन्ट उदोगका लागि आवश्यक पर्ने प्लास्टिक लिन जोरपाटी पुगे । त्यहाबाट उनी केही समयपछि बा ६ च ५१५२ नम्बरको कारमा घर फर्किए ।

मोहम्मदले घर अगाडि कार रोकेर आगनमा पाइला के टेकेका थिए, उनीमाथि एकाएक गोली चल्यो । उनी आफ्नो ज्यान बचाउन कारलाई एक फन्को लगाए । तर, पनि पछाडिबाट उनीमाथि गोलीको वर्षा रोकिएन ।

रातो सर्ट र जिन्स पाइन्ट लगाएका नकावधारीले उनलाई कार वरिपरि लखेटेर गोली हानेको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ । मोहम्मदलाई केही राउण्ड गोली लागेपछि कार छेउमै लड्छन् । गम्भीर घाइते अवस्थामा उनलाई प्रहरीले शंखरापुर अस्पताल पुर्याएको थियो । अस्पतालले आधा घन्टा उपचार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज रिफर गरिदियो । त्यपछि आधा घण्टा नबित्दै शिक्षण अस्पतालमा उनको मृत्युको घोषणा भयो ।

त्यसपछि मोहम्मदको हत्याराको खोजीका लागि प्रहरीले अनुसन्धान थाल्यो । यद्यपि अनुसन्धानले आजसम्म पूर्णता नपाए पनि निरन्तर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तो छ नितिन मदनको कनेक्सन :

मोहम्मदको हत्या हुनु अगावै उनीमाथि हत्या प्रयास बारम्बार भएको थियो । यो बुझेका उनले गत भदौ २५ आफूलाई असुरक्षित महसुस भएको भन्दै प्रहरी बिट जम्मुडाँडामा निवेदन दिएको प्रहरी बताउँछ । घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय नक्सालले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी जनक भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ ।

भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समितिले भारतको खुफिया एन्जेसीको वान्टेड सूचीमा रहेका र जाली नोटसँग पृष्ठभूमि जोडिएको पेशेवर अपराधीको प्रयोगबाट मोहम्मदको हत्या भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि घटनाको दोषीको पहिचान खुले पनि संलग्न व्यक्तिहरुलाई हालसम्म पक्राउ गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार लामो समयदेखि नेपाल बसे पनि उनको घर भारतको हरियाणा हो ।

उनी लुटपाट र जुवामा पनि जोडिएको प्रहरीले बताएको छ । स्रोतका अनुसार यसअघि उनले क्यासिनोमा पनि टन्नै पैसा डुबाएका थिए । उनको र उदय सेट्ठीबीच कसरी चिनजान भयो भन्ने रहस्य आजसम्म खुलेको छैन । उदयसँग सोधपुछ गर्न अनुसन्धान अधिकृतको एक टोली जिल्ला कारागार रसुवा पुगेको छ ।

मोहम्मदको घटना हुनुअघि प्रयोग गरेको एउटा मोटसाइकल प्रहरीले बरामद गरेको छ । विगतमा लाल मोहम्मदलाई पछ्याउन त्यो मोटरसाइकल प्रयोग भएको हुनसक्ने प्रहरीको आशंका छ । तथापि हालसम्म घटनामा प्रयोग भएको मोटरसाइकल बरामद भएको छैन ।

सेट्ठी र मदनबीच नियमित सम्पर्क हुने गरेको स्रोतले बताएको छ । मदनले एकजना साथीसहित रसुवा गएर जुत्ता, कपडा लगायतका सामग्री सेट्ठीलाई दिएको पाइएको छ । यसले उनीहरुबीचको घनिष्ठता कायम भएको प्रहरीको बुझाइ छ ।

त्यतिमात्रै होइन, उनीहरुबीच नियमति टेलिफोन संवाद भएको देखिएको छ । प्रहरीले घटना अगाडि दुई सुटर र मदनबीच होटलमा भेट भएको बताएको छ । ‘मदनले नै हतियार व्यवस्थापनदेखि रेकी गर्ने लगायतका काम गरेका थिए भन्ने कुरा यकिन भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्