बनेपाका ४७ वटा पसल एकै दिन अनुगमन



काभ्रे ।

जिल्ला बजार अनुगमन समिति, स्थानीय बजार अनुमगन समिति र सरोकारवाला निकायहरुले संयुक्त रुपमा बजार अनुगमन गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको सयोजकत्वमा बनेपामा रहेका खाद्य, होटल, औषधी पसल, अस्पताल, रेस्टुरेन्ट, एग्रो भेट लगायतका ४७ वटा पसलहरु अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा बनेपाको भोमी अस्पताल, सत्यसाई, आरोध्या फार्मेसी, स्माईल केयर, अन टाईम मेडि मार्ट र बनेपा अस्पतालमा पुगेको टोलीले म्याद सकिएको औषधीका साथै स्वास्थ्य संस्थाले पुरा गर्नु पर्ने मापदण्ड पुरा नगरेको फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो ।

‘बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर, रोशी, नमोबुद्ध, बेथान्चोक, भुम्लुको दोलालघाट लगायतका शहरी क्षेत्रको अनुगमन तिब्र पारिएको छ’–अमरदिप सुनुवारले भन्नुभयो–‘नियमित अनुगमनलाई चाडपर्वको अवसरमा तिब्र बनाईएको छ । अनुगमनका क्रममा म्याद नाघेका, मुल्य बृद्धी गरिएका, सेवा भन्दा धेरै मुनाफा गरेको पाईएको छ ।’ बनेपामा बजार अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरुले पार्किङ्ग उपलब्ध नगराएको, अस्पतालबाट निस्कने फोहोर ब्यवस्थापनमा ध्यान नदिएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिएको छ ।

अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, प्रादेशिक ल्यावका प्रमुख नारायण कार्की, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका निमित्त मदन बजगाई, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका डिएस्पी ढुण्डीराज न्यौपाने, ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहरा, ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेश सिलवाल, उद्योग बाणिज्य संघ, उपभोक्ताहरु, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

 

बनेपामा विभिन्न विद्याका ४७ वटा पसल एकै दिन अनुगमन गरिएको थियो । अनुगमन गरिएका मध्ये किराना पसलमा म्याद नाघेका सामानहरु फेला परेको थियो । म्याद नाघेका सामानहरु नस्ट गरिएको छ । मुल्य बृद्धी, तौल तथा गुणस्तर लगायतको अनुगमन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्