जनतालाई महामारीबाट जोगाउन सरकार लागि परेको छ : प्रधानमन्त्री देउवा

सम्मेलनबाट निस्कने निष्कर्ष सरकारलाई नीति निमार्णलाई सहयोगी साबित हुने छ 



काठमाडाैं  । 

हामी कोभिड–१९ महामारीको सामना गरिरहेका छौँ । सर्वसाधारण नागरिकहरूको जनजीविका तथा समाजमा परेको प्रभाव वा विश्वव्यापी महामारीको प्रभाव अत्यन्त महत्त्वपूर्ण हो ।

यसै सन्दर्भमा नेपाल चिकित्सक संघले गत वर्ष नेपालमा महामारीको तयारीका विषयमा केन्द्रित रहेर पहिलो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनको आयोजना गरेको थियो । त्यसैको निरन्तरता स्वरूप यस वर्ष ‘महामारीपछिको चुनौती, उपलब्धी र अवसरहरू’ नामक सन्देश सहित ७ वटा विषयवस्तुहरू जस्तै: पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि, महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरू, खोप, औषधि र उपकरणहरूबारे, स्वास्थ्य पर्यटनको सम्भावना र सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पारेको असर लगायतका विषयवस्तुहरुमा बौद्धिक व्यक्तित्वहरूको संलग्नता गराई विस्तृत छलफल गर्ने कार्यक्रमको तर्जुमा गरी नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनको आयोजना गरेकोमा म अत्यन्तै खुसी भएको छु ।

तपाईंहरुको सम्मेलनको पूर्ण सफलताको कामना गर्दै सम्बन्धित क्षेत्रको विज्ञहरुको संलग्नतामा सम्मेलनको समापन पश्चात् यहाँहरूले सम्प्रेषण गर्ने निचोडलाई नेपाल सरकारले प्राथमिकतामा राख्दै सोही अनुरूपका नीति, योजना तथा रणनीतिहरूको तर्जुमा गरेर नेपालले सामना गरेको महामारीलाई नियन्त्रण गर्दै आगामी दिनमा नेपाल सरकारले अवलम्बन गर्नु पर्ने रणनीतिक योजनामा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरेको छु ।

 

कोभिडको महामारी रहिरहेको समयमा फेरि डेंगुले सताउन थालेको छ । डेंगुबाट धेरैको मृत्यु भएकोप्रति गहिरो दुःख छ । सबैको साथ र सहयोगमा डेंगुलाई पनि सामान्य अवस्थामा लैजान आवश्यक देखिएको छ । नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणाली भित्र रही नेपाली जनतालाई यो विद्यमान महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने सम्बन्धमा नेपाल सरकार निरन्तर लागि परिरहेको ब्यहोरा यहाँहरूलाई विदितै छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यलाई व्यवस्थित बनाउनका लागि ऐन समेत निर्माण गरिसकिएको छ । नेपालमा कोभिडविरुद्धको खोपको उपलब्धताले सर्वसाधारण नागरिकहरूलाई महामारीसँग जुध्न सहज भएको तपाईहरुलाई अवगत नै छ । नेपाल सरकारले सुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरूको निर्धारण, पालना, आवश्यक सामाग्रीहरूको आपूर्ति र वितरण, कोभिड–१९ संक्रमित व्यक्तिहरुको उपचार र व्यवस्थापनमा निरन्तर लागि परिरहेको छ। कोभिड–१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखी सम्पूर्ण नागरिकहरूका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागि रहेको र करोडौँ नागरिकहरू यसबाट लाभान्वित भइसकेको विद्यमान अवस्था छ ।

यस शिखर सम्मेलनका लागि छनौट गरिएका विषयवस्तुले कोभिड–१९ को महामारीलाई मात्र नभई अन्य प्राकृतिक विपत्तिहरूको सामना गर्नका लागि राज्यको तर्फबाट सञ्चालन भएका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन, र भावी दिनमा अवलम्बन गर्न सकिने विशेष रणनीतिलाई मापनयोग्य र सर्वसुलभ बनाउन उल्लेख्य सहयोग मिल्नेछ भन्ने मैले विश्वास लिएको छु । यहाँहरूको छलफल, परामर्श र वैज्ञानिक आधारबाट तयार गरिने नीतिगत सुझाव सल्लाह नेपाल सरकारको आधिकारिक दस्ताबेजको रूपमा रहन सकोस् भन्ने अपेक्षा राख्दछु ।

कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहन्छ । जसरी कोभिड–१९ को महामारीमा होस् वा महाभूकम्पको समयमा नै किन नहोस् हाम्रो एकताबद्ध प्रयासबाट प्राकृतिक विपत्ति र महामारीको सामनालाई सदैव परास्त गर्दै आइरहेका छौँ । यस्ता प्रकारका विपत्तिको सामना गर्नका निमित्त अवलम्बन गर्नु पर्ने आधारहरूलाई नीतिगत रूपमा समावेश गर्न सकेको अवस्थामा नेपालको स्वास्थ्य सेवालाई हामीले परिकल्पना गरे बमोजिमको सर्व सुलभ, सहज र पारदर्शी बनाउँदै नेपाली जनताको जीवन रक्षा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ ।

कोभिड महामारीको समयमा नेपाल चिकित्सक संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको एवं विद्यमान अवस्थालाई ध्यानमा राख्दै यो शिखर सम्मेलनको आयोजना गरेकोमा नेपाल चिकित्सक संघ, सम्मेलन आयोजक समितिप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु ।

(प्रधानमन्त्री शेरबहादुर देउवाको यो भनाई नेपाल चिकित्सक संघले आयोजना गरेको दोस्रो राष्ट्रिय चिकित्सक सम्मेलनको उद्घाटन गर्दै व्यक्त गर्नुभएको हो । )

प्रतिक्रिया दिनुहोस्