गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटमा व्यस्त



काठमाडौं  ।

सिट बाँडफाँटलाई छाडेर समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउन लागेका गठबन्धनका शीर्ष नेताहरू फेरि पुरानै मेलोका फर्किएका छन् । मंगलबार बिहानबाटै नेताहरू आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँटको छलफलमा जुटेका छन् ।

गठबन्धनमा सिट बाँडफाँटबारे शीर्ष नेताहरूबीच मंगलबार बिहान छलफल भएको जानकारी दिँदै नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बिहान शीर्ष नेताहरूबीच छलफल भयो । अब हामी कार्यदलका नेताहरू पुनः छलफलमा जुट्दै छौं । त्यसपछि फेरि शीर्ष नेताहरूसहितको बैठक छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बिहानको बैठकमा नेताहरूबीच सामान्य छलफल भएको जानकारी दिनुभयो । गठबन्धनमा दलहरूबीच करिब एक सय सिटमा सहमति भइसकेको छ भने बाँकी केही सिटमा एकभन्दा बढीको दाबी हुँदा तालमेलको सहमति बन्न सकेको छैन । गठबन्धनमा कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले १५–१५ र राष्ट्रिय जनमोर्चाले २ सिटको आसपास पाउने गरी सिट संख्यामा सहमति जुटाएर तालमेलको प्रयास भइरहेको छ ।

गठबन्धन दलले निर्वाचनमा तालमेल गर्ने सहमति गरेर २० साउनमै सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।

त्यस्तै, माओवादी कन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्