बन्दसूचीको रुजु र दर्तामै बित्यो रात



काठमाडौं ।

समय छँदा अलमल गर्ने र अन्तिम समयमा तातिने राजनीतिक दलको चाला समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने क्रममा पनि देखियो । राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्दसूची अन्तिम समयमा बुझाउँदा सोमबार रातभरि निर्वाचन आयोगलाई कामको निकै चाप प-यो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचनको लागि उम्मेदवारको बन्दसूची बुझाउन असोज २ र ३ गते तोकिएको थियो । तैपनि अन्तिम दिन त्यसमाथि कार्यालय समय सकिने बेलामा मात्र दलहरू उम्मेदवारको बन्दसूची बुझाउन गएकाले त्यसको रुजु र दर्ता प्रक्रिया मिलाउन रातभर समय लागेको थियो ।

आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार उम्मेदवार बन्दसूची बुझाउने काम मंगलबार बिहान पाँच बजे सकिएको थियो । पहिलो दिन भने दुई दलले मात्र उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएकोमा ४८ वटा दलले मात्रै मंगलबारसम्म बन्दसूची बुझाएको प्रवक्ता वाग्लेले जानकारी दिनुभयो । त्यसै गरी प्रदेशसभातर्फ समानुपातिकमा प्रदेश नम्बर १ मा ३६ वटा दलले उम्मेदवारको बन्दसूची पेस गर्दा मधेश प्रदेशमा ३६ दलले उम्मेदवारको सूची बुझाएका छन् ।

यस्तै, वागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गरेका छन् । अधिकांश दलहरूले प्रतिनिधिसभातर्फ १ सय १० र प्रदेश सभातर्फ २ सय २० जना उम्मेदवारको नाम पेस गरेका छन् ।

राजनीतिक दलहरूले बुझाएको उम्मेदवारको बन्दसूची विद्यमान कानुनी प्रावधान, समावेशी सिद्धान्त, आयोगको निर्देशनअनुरूप पेस गरेका वा नगरेको छानबिन गरिने आयोगले जनाएको छ ।छानबिन गरी आवश्यक परे सच्याउन आयोगले ९ गतेभित्र सूचित गर्नेछ ।

त्यसपछि बन्दसूची संशोधन गरी पेस गर्न १० देखि १६ गतेसम्मको अवधि निर्धारण गरिएको छ । दलहरूले प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बन्दसूची पेस गर्दा ५० हजार र प्रदेश सभातर्फ २५ हजार धरौटी राखेर सूची बुझाएका थिए । आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ गते गर्ने तालिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्