देशका विभिन्न ठाउँमा पाँच जना मृत फेला



काठमाडौं । आज (मंगलबार) देशका विभिन्न ठाउँमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेहरूमा सोलुखुम्बु, लिखुपिके गाउँपालिका–१ बस्ने ५० वर्षीया फुलमाया खत्री आफ्नै घरमा सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका–३ आँखोप सल्लेरी बस्ने २५ वर्षीय बिक्रम ताम्लिङ सोही ठाउँस्थित साम्सिम खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । माछा मार्न भन्दै हिजो (सोमबार) दिउँसो उक्त खोलामा गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।

अछाम, कमलबजार नगरपालिका–६ हात्तिबाझ बस्ने ४९ वर्षीय दिप्त शाही घर नजिकै बुदेखोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँस घारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

दार्चुला, महाकाली नगरपालिका–५ खेट्टेबगरस्थित महाकाली नदीको किनारामा नाम, थर, वतन नखुलेका एक पुरूष आज मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्