राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा १० को परीक्षा गर्ने मोह

बजेट सक्न पटक–पटक एकै प्रकारको कार्यक्रम

0
Shares

काठमाडौंं । 

राष्ट्रिय परीक्षा बोर्डले बजेट सिध्याउन एकै प्रकारको कार्यक्रम पटक–पटक सञ्चालन गरेको छ । एक महिनाअघि कक्षा १० को परीक्षको ग्रेडिङ, नतिजादेखि शिक्षक तथा कक्षाकोठासम्म सुधार गर्ने विषयमा आयोजन गरिएको कार्यक्रमलाई सोमबार १२ कक्षाको परीक्षाको सुधार गर्ने नाममा दोहो-याएको हो ।

सरकारले गएको वर्षबाट कक्षा १० को परीक्षा प्रदेश सरकारलाई दिने निर्णय गरिसकेको छ । तर, बोर्डले प्रदेश सरकार कक्षा १० को परीक्षा गर्न अक्षम छ भन्ने आरोप लगाउँदै एउटै विषयमा पटक–पटक कार्यक्रम गर्ने गरेको हो । विशेष गरी, कक्षा १२ को परीक्षाको सुधार गर्ने विषयमा खासै चासो नदिएर रकम सिध्याउन कक्षा १० लाई बढी प्राथमिकता दिएको कर्मचारीको आरोप छ ।

सोमबार परीक्षा सुधार गर्न भन्दै मन्त्रीलाई साक्षी राखेर आयोजना गरेको कार्यक्रममा अधिकांश विषय एक महिनाअघिकै देखिएको छ । ‘शुरुमा कक्षा १० को नाममा खर्च गरियो, आज कक्षा १२ को नाममा रकम सिध्याउन खोजिएको छ ।’ –कार्यक्रममा सहभागी विज्ञले नेपाल समाचारपत्रलाई बताए । एक महिनाअघि जसलाई विज्ञका रूपमा बोलाइएको थियो सोही व्यक्तिलाई कक्षा १२ को परीक्षाको छलफल कार्यक्रममा पनि बोलाइएको छ ।एउटै कार्यक्रम गर्नु थियो त किन पटक–पटक खर्च गरिरहेको त रु भन्ने प्रश्नमा बोर्डका अध्यक्ष महाश्रम शर्माले भन्नुभयो– ‘एक महिनाअघि कक्षा १० को परीक्षाको विषयमा कार्यक्रम गरेका थियौं, आज कक्षा १२ को गरेका हौ ।’

विशेष गरी सदस्य–सचिव दुर्गा अर्यालको वर्चश्व रहेको बोर्डमा उहाँकै इच्छाअनुसार पटक–पटक एकै खाले कार्यक्रम आयोजना गरिएको एक सदस्यले बताए । उनका अनुसार अहिले पनि कक्षा १० को परीक्षा बोर्डबाटै गर्न सदस्य–सचिवले नै लबिङ गरिरहेका छन् । ‘सर्भर बिग्रिएर बिल प्रिन्ट गर्न नसकेको बोर्डले प्रदेश सरकारलाई असक्षमको बिल्ला भिडाएर सबै परीक्षा आफैं गर्ने तयारीमा छ । बोर्डले त कक्षा १२ को परीक्षामा मात्र ध्यान दिने हो, कक्षा १० को प्रदेश र ८ को स्थानीय तहले लिने निर्णय भइसकेपछि किन फेरि एउटै विषयमा कक्षागत कार्यक्रम आयोजना भइरहेको छ बुझ्न सकिएको छैन ।’ –स्रोतको भनाइ छ ।

आइतबार बिहान ८ बजे ट्रान्सकिप्ट लिन जानेहरूलाई बोर्डको कार्यालयमा पुग्दा सर्भर बिग्रिएको बताएर फर्काइएको थियो । एकछिनमा प्रिन्ट हुने ट्रान्सक्रिप्ट प्राविधिकको अभाव देखाउँदै हप्तौं लाग्ने जवाफ दिएर विद्यालयका सञ्चालकलाई बिनाट्रान्सक्रिप्ट फिर्ता पठाइएको थियो । कार्यक्रमको आयोजनाभन्दा पनि आफूहरूले बोर्डको चुस्त कामको अपेक्षा गरेका बताउँदै एक कर्मचारीले भने– ‘तर, कामभन्दा पनि सुधारका कुरा बढी गर्ने सदस्य–सचिवकै कारण बोर्ड भद्रगोल भएको छ ।’
बिलिङ मेसिन बिग्रँदा हजाराैं विद्यार्थीलाई समस्या भएन त रु भन्ने प्रश्नमा बोर्डका अध्यक्ष शर्माको भनाइ थियो– ‘हो र रु यो विषयमा बुझेर भनौंला ।’

Skip This