निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुन्छ: प्रम देउवा



काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आठौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधिअनुसार शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्ने धारणा राख्दै उहाँले जनताको जीवनस्तरमा सुधार ल्याई मुलुकको स्वाधीनता र स्वाभिमानलाई संरक्षण र सम्वद्र्धन गर्न तथा समृद्धिको सपनालाई चाँडो पूरा गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले लोकतन्त्रमा सम्पूर्ण निर्णायक शक्ति सार्वभौम जनतामै रहने हुनाले राज्यका सबै तहका संरचनामा देशका सबै वर्ग तथा समुदायको समान पहुँच र सहभागिता सुनिश्चित हुने स्पष्ट पर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको स्मरण गर्नुभयो ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।

कार्यक्रममलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो । संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्यान्डबाजा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्