काभ्रेको बनेपा र पाँचखालमा महोत्सव सुरु 



काभ्रे । 

दशैको पुर्वसन्ध्यामा काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक सहर बनेपा र कृषि सहर पाँचखालमा महोत्सव सुरु भएको छ । बनेपामा काभ्रे उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव बागमती प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्नु भयो भने पाँचखालमा आयोजना गरिएको महोत्सव नगर प्रमुख महेश खरेलले उद्घाटन गर्नु भयो ।

व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि भन्ने नाराका साथ सुरु भएको महोत्सवमा जिल्लाका विभिन्न स्थानबाट सहभागीहरूले स्टल राखेका छन् । नेपालीहरूको महापर्व दशैको पावन अवसरमा आयोजित काभ्रे महोत्सवमा परम्परागत कला संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि,पर्यटन प्रवर्द्धनको निमित्त आयोजना गरिएको अध्यक्ष राजेन्द्र पसक्षेले बताउनु भयो ।

महोत्सवमा १ सय भन्दा धेरै स्टल छन् । कोभिड १९ ले थलिएको अर्थतन्त्र उकास्नका लागी स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै न्यून शुल्क लिएर जिल्ला भरि छरिएर रहेका ब्यवसायीहरुलाई महोत्सवमा समेट्ने प्रयास गरिएको छ । महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरू, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरू, खाद्यान्न, अटोमोबाईल, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीहरू, कृषि औजारका सामाग्रीहरूको  स्टलहरू छन् । महोत्सवमा बिक्री हुने सामाग्रीहरुमा विशेष छुटको व्यवस्था गरिएको महासचिव रवीन्द्र बैदारले बताउनु भयो ।

मनोरञ्जनका लागी महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनि बञ्जी जम्प,वाटर बल्ब, मिकि माउस, टेम्पोलिङग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्य व्यङ्ग तथा गीत गायनको प्रस्तुति प्रत्येक दिन रहनेछ । महोत्सव असोज १५ गते सम्पन्न हुनेछ ।

महोत्सवमा उपत्यका र काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, आदि जिल्लाका बासिन्दाहरूले लाभ लिने अपेक्षा गरिएको छ महोत्सवको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र सांघाई, केन्द्रीय सदस्यहरू सुरकृष्ण वैद्य, दिलसुन्दर श्रेष्ठ, नगर प्रमुखहरू धुलिखेलका अशोक ब्याञ्जु, बनेपाका शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले महोत्सवले समग्र काभ्रे जिल्लाको समृद्धीका लागि थप आयाम थप्न सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष ग्रुवेन तौजले, कैलाश पलाञ्चोके, महासचिव रवीन्द्र बैदार लगायतले विभिन्न क्षेत्रको सहयोगमा महोत्सव आयोजना गरिएको बताए ।  महोत्सवमा पुर्व अध्यक्षहरु, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, सदस्यहरू तथा उद्योगी व्यवसायी र जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । महोत्सव अवधिभर ५० हजार नागरिकहरूको सहभागितामा ५० लाख भन्दा धेरै कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्