अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक, रेफर गर्न सुझाव



धनगढी ।

धनगढीमा ८ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिलतातर्फ गएपछि सेती अस्पतालले अन्यत्र स्थानान्तरण (रेफर) गर्न सुझाव दिएको छ। अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो ।

उहाँ गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत हुनुहुन्छ । उहाँले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाइ गरेको छैन ।

आइतबार डा केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर निष्कर्षविहीन टुंगिएको थियो । कैलालीको गेटामा बनिरहेको मेडिकल कलेजको सञ्चालनसहित चिकित्सा क्षेत्र सुधारका मागसहित उहाँले ८ दिनअघि अनशन थाल्नुभएको थियो । अनशनरत उहाँको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गइरहेको, नसाहरु सुक्दै गएको र तीन किलो तौलसमेत घटेको चिकित्सकले जनाएका छन् ।

यस्ता छन् डा केसीका माग

डा. केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालको तत्कालको दरबन्दी हालको बेड संख्याअनुसार बढाइनुपर्ने माग गर्नुभएको छ।

जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने उहाँको माग छ ।संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण, एक्सरेलगायत आधारभूत सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने, सरकारले तोकेको सूचीअनुसारको सबै औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गर्नुपर्ने केसीको माग छ ।

यसैगरी, स्थानीय तहको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरिनु पर्ने, देशभर दीगो स्वास्थ्य सेवा पुर्‍याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीको नियुक्ति गरिनुपर्ने माग राखिएको छ ।

सरकारी स्वास्थ्य संस्था वरिपरी मापदण्ड नपुर्‍याइ खुलेका र जोखिमपूर्ण सेवा दिइरहेका संस्थालाई कारबाही गरिनु पर्ने माग केसीको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गरिनु पर्ने उहाँको माग छ ।

आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने, विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरिनुपर्ने लगायतका माग राख्दै डा। केसी सत्याग्रहमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्