भलिबलमा बैतडी सेमिफाइनलमा



बैतडी । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताअन्तर्गत महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ ।

महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डँडेल्धुरा र अछाम दुवैलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको हो । फाइनल खेल सोमबार हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो ।

तेक्वान्दोमा पनि बैतडी अन्तिम चारमा सुरक्षित भएको छ । तेक्वान्दोमा सुनिल विष्ट सेमिफाइनमा पुगेका हुन् । यस्तै, पुरुष फुटबलको पहिलो खेलमा बझांगलाई २–० हराउँदै विजयी सुरुवात गरेको छ । पुरुष र महिला ब्याडमिन्टनमा भने बैतडी पराजित भएको छ । कबड्डीको पहिलो खेलमा बैतडी दार्चुलासँग पराजित भएको छ ।

प्रदेशस्तरीय छनौट प्रतियोगिताका लागि बैतडीबाट १३ खेलका १५६ खेलाडी सहभागी भएका छन् । कैलाली र कञ्चनपुरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगिता असोज ७ गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज अन्तिम सातादेखि गण्डकी प्रदेशमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्