टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन आदेश



काठमाडौं । 

उच्च अदालत पाटनले आइतबार टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । आदेशलगत्तै काठमाडौं महानगरपालिकाले अर्को आदेश नआउन्जेल सबै काम रोक्नुपर्नेछ ।कामपाले नक्सा पास र भवन निर्माण सम्पन्न प्रमाणपत्रसमेत भएको घरमा पनि डोजर लगाएपछि अन्य दुई कम्पनीसहित प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले रिट दायर गर्नुभएको थियो ।

सो रिट माथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।अदालतले असोज ५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । प्रक्रियाबमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्रसमेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुवै पक्षलाई छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो ।

टुकुचा खोला खोज्दै त्यसमाथि बनेका संरचना भत्काउने अभियान थालेको कामपाले पहिलो दिन नक्सालस्थित जय नेपाल हल र शनिबार हात्तीसारस्थित लक्ष्मी बैंकको कम्पाउन्ड फुटाएर टुकुचा खोला निकालेका थियो ।यसैबीच पुरातत्व विभागले पनि टुकुचा खोलाको भूमिगत सुरुङलाई ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भन्दै त्यसमा क्षति पुग्ने गरी काम नगर्न कामपासँग छलफल शुरु गरेको छ ।

विभागले जमिनमुनिबाट बगाउन १ सय ३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा निर्माण भएको इँटाको गुम्बज शैलीको भूमिगत सुरुङमा डोजर चलाउँदा पुरातात्विक सम्पदामा क्षति पुग्न सक्ने भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।निवेदकहरूले महानगरपालिका–७ को कित्ता नम्बर ३०३८ र ३०३९ को १० आना बढी जग्गा २०५३ सालमा किनेर त्यसमा घर बनाउन महानगरबाटै भवन निर्माणको इजाजत लिएको थियो । त्यसका साथै कित्ता नम्बर ७ को ९ आना बढी जग्गामा भएको घरसमेत २०६८ सालमा किनेर भोग चलन गर्दै आएको देखिएको अदालतले जनाएको छ । आफूहरूले किनेर भोगचलन गर्दै आएको जग्गामा बनेका घर महानगरपालिकाले कानुनी प्रक्रिया नपु¥याई र क्षतिपूर्ति नदिई हटाउन लागेको रिट निवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्