सत्ता पक्ष र प्रतिपक्षबीचको जुहारीमै सकियो संसद्को अन्तिम बैठक



काठमाडौं । 

प्रतिनिधिसभाको कार्यावधि शनिबार राती १२ बजे सकिँदै छ । संसद्को समयावधि सकिनुअघि शनिबार बसेको प्रतिनिधिसभाको अन्तिम बैठक पाँच वर्षे कामको समीक्षा र आपसमा हार्दिकता साटासाट नभई चार शीर्ष नेताको जुहारीबीच सकिएको छ ।

सम्बोधनका क्रममा शुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा दुईपटक विघटन भएको तर अदालतबाट बदर भएकाले अहिले अन्तिम भेट भएको भनी घोचपेच गर्नुभयो । देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ र जेठ ७ गते मध्यरातमा गरेको विघटनलाई स्मरण गराउँदै सर्वोच्चको परमादेशले संसद् जोगिएको कुरा उप्काउनुभयो । ओलीले आफ्नो सरकारलाई ‘परमादेशको सरकार’ भनेर पटकपटक टिप्पणी गरेकोप्रति व्यंग्य गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘त्यही कारणले अहिले सँगै संसद्मा बसेर काम गर्ने अवसर मिलेको छ ।’

प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मंसिर ४ गते सम्पन्न हुने गरी घोषणा भएको निर्वाचन सफल गराउन सबैलाई आह्वान गनुभयो । साथै उहाँले प्रतिनिधिसभाको अवधिभरि सहभागी हुने सबै सांसदहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।प्रधानमन्त्री देउवालगत्तै संसद्मा बोल्न पुगेका प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देउवाको सम्बोधनप्रति कटाक्ष गर्दै परमादेशबाट नक्कली सरकार गठन गर्ने कुरा प्रतिगमन भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो– ‘निर्वाचनमा जानु नै रहेछ, तर मैले निर्वाचन गर्ने भन्दा प्रतिगमन भयो भन्नु नै प्रतिगमन हो ।’ ओेलीले आफ्नो निर्णय उल्ट्याउने सर्वोच्चको फैसला गलत भएको र अहिलेको गठबन्धन कृतिम अंक गणितबाट बनेको भन्दै ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट यो गठबन्धन पराजित हुने दाबी गर्दै भन्नुभयो– ‘मंसिर ४ गते जनताले गठबन्धन तथा त्यसमा आबद्ध माओवादी र नेकपा एसलाई देखाइदिनेछन् ।’ उहाँले आगामी निर्वाचनबाट एमाले सत्तामा फर्कने संकेत गर्दै निर्वाचन शान्तिपूर्ण वातावरणमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रुपमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीको भनाइको खण्डन गर्दै संविधानले नदिएको अधिकार प्रयोग गर्नुलाई प्रतिगमन भनिने टिप्पणी गर्नुभयो । उहाँले निर्वाचन घोषणालाई आफूहरूले कहिल्यै प्रतिगमन नभनेको जिकिर गर्दै गठबन्धनले वैशाख ३० गते संविधानको भावनाअनुसार नै स्थानीय तह निर्वाचन सम्पन्न गरेको बताउँदै भन्नुभयो– ‘अब आगामी मंसिर ४ को निर्वाचन सफल बनाउनेमा केन्द्रित हुने अपेक्षा गरेका छौं ।’

प्रचण्डले पार्टीभित्रको विवादमा तारो संसद्लाई बनाइएको आरोप लगाउँदै भन्नुभयो– ‘प्रमुख प्रतिपक्ष दलका नेताले लोकतन्त्र र प्रतिगमनको व्याख्या गरेको सुनियो । जे भने पनि हुने रहेछ कि भन्ने लागेको छ । संविधानमा अर्को सरकार गठनको सम्भवना हुँदै दलभित्र छलफल नै नगरी संविधानको भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन नभए के हो ?’ राष्ट्रियसभा निर्वाचन, नेपाल बार एसोसिएसन र नेपाल पत्रकार महासंघको निर्वाचनले सन्देश दिइसकेको भन्दै प्रचण्डले भन्नुभयो– ‘प्रतिपक्ष दलका नेताले मंसिर ४ मा थाहा हुन्छ भन्नुभयो ।

हुन्छ हेरौंला ।’ उहाँले अहिले पनि ओलीले गलत भएको कुरा महसुस नगरेको टिप्पणी गर्दै भन्नुभयो– ‘यहाँ बस्ने कोही केही बुझदैनन् वा जनता भेडै छन् भन्ने ठान्नुभएको हो कि ?’नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वोच्च अदालतले दुई÷दुईपटक असंवैधानिक भएको भने पनि एमाले अध्यक्ष ओलीलाई चेत नआएको भन्दै आगामी चुनावको परिणामले एमाले अध्यक्ष ओलीको दिमाग खोल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्