पहिरोमा परी डेढ दर्जन बढीको मृत्यु



अछाम । 

अछाममा शुक्रबार राति परेको भीषण वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ । रातभरि परेको वर्षाले गाउँमाथिबाट पहिरो आउँदा दर्जन बढीको मृत्यु भएको छ ।

अछामको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमलबजार–८ मा एकै परिवारका ५ जनाको शव निकालिएको छ भने कमलबजार–६ ठाँटीकाँधमा बेपत्ता भएका ७ जनाको शव फेला परेको छ । यस्तै, तुर्माखाँद–५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै ढकारी गाउँपालिका–६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेका रिजालले बताउनुभयो ।

तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् । मृतकहरुको सनाखत कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो । उहाँका अनुसार बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ बस्ने १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाही र कमलबजार नगरपालिका–६ बस्ने ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामी रहेको प्रहरीले बताएको छ ।

यस्तै, कमलबजार नगरपालिका–८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाईं, २३ वर्षीय भाना दमाईं, ६ वर्षीय डिग्रा दमार्इं, तीन वर्षीय कलु दमार्इं, चार वर्षीय कल्पना दमाईं रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।बेपत्ता हुनेमा तुर्माखाद–५ का १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीय मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाही र ढकारी गाउँपालिका–१ का ४५ वर्षीय मोती बुढा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो । पहिरोमा परेर ११ जना घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्