लमजुङ अस्पतालमा जनशक्ति अभावका कारण भेन्टीलेटर प्रयोगविहीन



लमजुङ । जिल्ला अस्पताल लमजुङमा साँढे दुई वर्षदेखि भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालनका लागि ल्याएको उपकरण अलपत्र परेको छ । कोरोना संक्रमण शुरु भएसँगै आवश्यकतालाई मध्यनजर गरी ल्याईएको भेन्टीलेटर सहितको आईसियू उपकरण कोरोना चौथो लहर शुरु हुँदासम्म पनि शुरु हुन सकेको छैन ।

महंगीका कारण आवश्यक जनशक्ती उपलब्ध गराउन नसक्दा भेन्टिलेटर सहित सघन उपचार कक्ष सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ मै बजेट प्राप्त भए पनि आर्थिक वर्ष ०७७/७८ को दोश्रो चौमासिकमा आवश्यक उपकरण आईपुगेको थियो । आवश्यक जनशक्ती नहुँदा उपकरण ल्याईसकेको साँढे दुई वर्ष बित्दा पनि हालसम्म भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ ।

प्रदेश सरकारले आईसिसियू कक्ष सञ्चालनको लागि आर्थिक वर्ष ०७६/७७ मा एक करोड ६९ लाख १९ हजार रुपियाँ उपलब्ध गराएको थियो । तर विश्वव्यापी कोरोना भाईरस संक्रमण जोखिमसँगै लकडाउनका कारण आवश्यक उपकरण ल्याउन समस्या भएको थियो । अवस्था सहज भएसँगै आवश्यक उपकरण ल्याएर जडान गरिए पनि हालसम्म दक्ष जनशक्ती नहुँदा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमूख श्रेष्ठले बताउनुभयो ।

तत्कालिन समयमा कोभिड–१९ को उच्च जोखिमको सन्दर्भमा द्रुत गतिमा टेन्डर प्रक्रियामा गई सोही आर्थिक वर्षभित्रै आईसिसियू कक्ष सञ्चालन गर्ने तयारी भए पनि अपेक्षित काम हुन सकेको थिएन । अस्पताल प्रमूख श्रेष्ठका अनुसार दोश्रो चरणको कोरोना संक्रमणको जोखिम बढेसँगै भेन्टीलेटर सहितको आईसियू कक्ष सञ्चालन गर्ने प्रयास गरे पनि जनशक्ती अभावकै कारण सञ्चालन गर्न नसकिएको होे ।

कोभिड संक्रमितको उपचारलाई लक्षित गरी ल्याईएको उपकरण कोरोनाको तेश्रो लहर सकिएसँगै चौथो लहरप शुरु हुँदासम्म पनि उपयोगमा नआउँदा सरकारको काम कारबाही प्रति नै सरोकारवालाहरुले प्रश्न उठाउँदै आएका छन् । भेन्टीलेटर सञ्चालनको लागि प्रदेश सरकार र अस्पताल मार्फत पटक पटक जनशक्ती माग गरिए थियो । हाल भने मह‌गीका कारण जनशक्ती ल्याउन नसकेको अस्पताल प्रशासन प्रमुख श्रेष्ठको भनाई छ ।

अस्पतालमा भेन्टिलेटरसहित पाँचवटा आईसियू कक्ष सञ्चालन गर्ने तयारी गरिएपनि हाल सोही ठाउँमा डाइलसिस शुरु गरीएको हुँदा ठाउँ अभावका कारण पनि भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालनमा ल्याउन नसकिएको श्रेष्ठको भनाई छ ।

भेन्टिलेटर सहितको आईसियु सञ्चालनका लागि सम्वन्धित विषयमा तालिमप्राप्त स्वास्थ्यकर्मी र सहयोगी चाहिने भन्दै अस्पतालभित्र उक्त तालिम लिएका जनशक्ती नभएको र बाहिरबाट ल्याउन सक्ने अवस्था नभएको अस्पतालले जनपाएको छ ।

प्रतिक्रिया दिनुहोस्