धनगढी विमानस्थलमा स्याल देखिएपछि आकाशमा जहाजको दुई मिनेटसम्म फन्को



धनगढी ।

धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि जहाज अवतरणमा ढिलाइ भएको हो ।

शुक्रबार काठमाडौंबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो ।

जहाजले धनगढीको आकाशमा करीब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताउनुभयो ।

जोशीका अनुसार रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा फन्को मार्नुपरेको हो ।विमानस्थल कार्यालयकाअनुसार बेलाबखत ग्राउण्डमा स्याल प्रवेश गर्दा समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्