सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, सरकार मौन



धनगढी ।

सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखा परेको छ । कैलालीको धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्था जटिलतर्फ गइरहेको जनाएको छ ।

२०औं सत्याग्रहमा बसेका केसीले सोमबारदेखि सत्याग्रह थाल्नुभएको थियो । शुक्रबार सत्याग्रहको पाँचौं दिन हुँदा डा.केसीको स्वास्थ्य अवस्था थप बिग्रदै गएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उहाँमा टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडीने र मुटुको धडकनमा गडबढी हुने समस्या देखा परेको छ ।

यस्तै केसीको रक्तचाप घटेर ९०/६० हाराहारीमा पुगेको, श्वासप्रश्वास दर बढ्दै गएको र शरीरको तौल घट्दै गएको जनाइएको छ । प्रयोगशाला रिपोर्टमा सुगरको मात्रा ४१ पुगेको क्याल्सियम, फस्पोरस र म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको देखिएको अस्पतालले जनाएको छ । डाक्टर केसीलाई शुद्ध पानी, नर्मल स्लाइन र रिङ्गर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सक टोलीबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ ।

 

स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २० औं सत्याग्रहमा बसेका डाक्टर केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन । लामो समयसम्म सरकारले वार्ता गर्न उदासिन भए डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिने चिन्ता गरिएको छ । अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्