घुम्ती शिविर मार्फत सरकारी सेवा



रामेछाप ।

उमाकुण्ड गाउँपालिकाले घुम्ति शिविर मार्फत नागरिकलाई सरकारी सेवा दिने अभियान सुरु गरेको छ । नागरिकको सहजताको लागि एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रवाह गरेको हो ।

एकीकृत घुम्ती शिविर सञ्चालन गरी गाउँपालिकाले सबै वडावासीलाई सरकारी सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो । अध्यक्ष सुनुवारका अनुसार वडा स्तरमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्य परीक्षण लगायतका काम समेत गरिएको छ ।

बिहीबारबाट गाउँपालिकाको वडा नं ७ भूजीबाट सुरु गरिएको अभियान प्रत्येक वडाको केन्द्रमा सञ्चालन हुने छ । अभियानको पहिलो दिन वडा नं ७ भूजीमा २२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र बनाएका छन् । सात जनाले ख वर्गको अपाङ्गता परिचयपत्र र दुई जनाले ग वर्गको परिचयपत्र ११ जनाले ज्येष्ठ नागरिक परिचयपत्र बनाएका छन् ।

शिविरमा २५ जनाको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको छ । शिविरमा १२ वटा योजना सम्झौता भएको छ । १६ वटा नयाँ व्यवसाय दर्ता, तीन वटा व्यवसाय नवीकरण र ११ वटा इजाजत पत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्