ठगीमा संलग्न मालपोतका कर्मचारीलाई पुर्पक्ष



काभ्रे । 

हुँदै नभएको जग्गा विक्री गर्ने अपराधमा संलग्न भएको अभियोगमा सरकारी छाप दस्तखत किर्ते र ठगी अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले अभियोग दर्ता गरिएका मध्ये तीन जनालाई पुर्पक्ष गरेको छ भने एक जनालाई धरौटी माग गरेको छ ।

जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले प्लटिङ्गका लागि नक्सा तयार गर्ने इन्जिनियर निर्मल स्याङतानलाई किर्ते र सरकारी छाप दस्तखत किर्ते अभियोगमा ७५-७५ हजार धरौटी माग गरेको छ । त्यस्तै ठगी अभियोगका मुख्य अभियुक्त रवि रेग्मि, मालपोत कार्यालय काभ्रेका कर्मचारीद्वय शशित भण्डारी र रामविनय यादवलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेका अनुसार अभियोग दर्ता भएका मध्ये बाँकी ४ जना लेखापढी कानुन ब्यवसायी सीताकुमार थापा, उनका श्रीमान राजन थापा, रामचन्द्र श्रेष्ठ र अर्जुनकुमार हुमागाईलाई पक्राउ पुर्जी जारी गरिएको छ । मुख्य अभियुक्त रवि रेग्मी सहित ८ जना विरुद्ध ठगी र किर्तेमा अलग अलग मुद्दा दर्ता गरिएको थियो ।

संगठित अपराधमा मुद्दा दर्ता गर्ने भन्दै अदालतबाट पटक पटक ६० दिनको म्याद पाएको प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मुद्दाको अभियोग पत्र बदलेर २४ दिन मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न पाउने सरकारी छाप दस्तखत किर्ते र ठगीमा मुद्दा दर्ता गरको हो । ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगमा भाद्र २९ गते बुधबारबाट अभियुक्तहरुको बयान शुरु भएको थियो ।

बयान सकिए लगत्तै थुनछेक बहस शुरु भएको थियो । प्रहरीले जग्गा विक्री गर्ने रवि रेग्मि, मालपोत कार्यालय काभ्रेका दुई कर्मचारी शशित भण्डारी र रामविनय यादव, लेखापढी तथा कानुन ब्यवसायी सीताकुमारी थापा र उनका श्रीमान राजन थापा, इन्जिनियर निर्मल लामा, जग्गा खरिद गर्न सहयोग गर्ने रामचन्द्र श्रेष्ठ र जग्गा खरिद गरी साक्षी बसेका अर्जुनकुमार हुमागाई विरुद्ध ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगमा मुद्दा दर्ता गरेको थियोे । करिव १ करोड ७३ लाख २९ हजारको विगो दावी गर्दै प्रहरीले दर्ता गरेको मुद्दामा पिडीतहरुले न्यायका लागि हदैसम्मको कारवाहीको माग गरेका थिए ।

रवि रेग्मिले हुँदै नभएको जग्गा विक्री गरेका थिए भने लेखापढी ब्यवसायी सीताकुमारी थापा र उनका श्रीमान राजन थापाले सरकारी छाप दस्तखत किर्ते गरेका थिए । पुर्जा प्रिन्ट गर्ने, मालपोत, नापी तथा अन्य कार्यालयको छाप तयार गरी कर्मचारीहरुको हस्ताक्षर नक्कल गर्ने काम गरेका थिए ।

मालपोत कार्यालय कर्मचारीद्धय भण्डारी र यादवले पुर्जाका लागि आवश्यक पर्ने फोटो खिचाउँदै मोठ भिडाउन सहयोग गरेका थिए । हुँदै नभएको जग्गाको मोठ भिडाउँदै अफलाईन जग्गा पास गर्ने अभियानमा उनिहरुको संलग्नता देखिएको थियो । इन्जिनियर निर्मलले नापी कार्यालयले गर्ने कित्ताकाट गरी प्लट तयार गरिदिएका थिए । रामचन्द्र श्रेष्ठले आफ्नै जेठानलाई जग्गा खरिद गर्दा कमिसन लिएका थिए ।

उनले कमिसन फिर्ता गरिसकेका छन् । अर्जुनकुमार हुमागाई आफैले जग्गा खरिद गरेर पीडित भएका थिए तर उनले अरुलाई जग्गा खरिद गर्दा समेत साक्षी बसेकाले उनको पनि मिलेमत्तो देखिएको थियो । रविको कोठाबाट बरामद भएका पुर्जाहरुमा अन्य ब्यक्तिहरुका नाममा तयार भएका नक्कली पुर्जा फेला परेका छन् ।

यस्तो थियो दाबी

साविक बनेपा १ हाल बनेपा ५ मा पर्ने खोला किनारको जमिन देखाउँदै ७६ कित्ताको प्लट बनाएर नक्कली कागजात तयार गरी ठगि गर्ने मध्येका रेग्मी र अन्यको संलग्नताका बारेमा प्रहरीले गोप्य अनुसन्धान गरेको थियो । ‘एउटै प्लट देखाएर ठगिनेहरु मध्ये ८ जनाको उजुरी परेको थियो’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘थप पीडितहरु भए पनि प्रहरीको सम्पर्कमा आएनन् ।’

पीडितहरु गणेश मैनालीको ३२ लाख ७० हजार, सिता तिमल्सिनाको ३३ लाख ३ हजार ७ सय ५०, रुकमणी हुमागाईको २३ लाख ३ हजार ७ सय ५०, निर्मला उप्रेतिको ४६ लाख ५१ हजार ८ सय ७५, लालकृष्ण घिमिरेको ५४ लाख, पुण्यवती श्रेष्ठको ३८ लाख ५० हजार ६ सय २५ रहेको छ । जग्गा किन्न बैना रकम दिनेहरु बालकृष्ण श्रेष्ठको ५० लाख र बाबुकाजी श्रेष्ठको ५ लाख रहेको छ । अनुसन्धानका क्रममा प्रहरीले २६ वटा लालपुर्जाको बारेमा अनुसन्धान गरेको थियो ।

बनेपा ५ मा गुठीमा रुपमा राखेका ज्ञानबहादुर शाही, जीवन शाही, चन्द्रबहादुर शाहीको जग्गाका साथै रेवती दाहाल र अर्जुन दाहालको नाममा रहेको जग्गा देखाउँदै रेग्मीले सर्वसाधारणलाई ठगेका थिए । प्रारम्भिक अनुसन्धानमा रेग्मिका २६ वटा खाता फेला परेका थिए । उनले डेड करोड रकम दिएर बैना गरेका ५ वटा जग्गा पनि नक्कली देखिएको छ । नक्कली जग्गाको बैना गर्नेहरुमा सहकारीका संचालकहरु पनि थिए । रेग्मिले नाबालक छोरा आयुषका नाममा नुवाकोट। रामेछाप लगायतका जिल्लामा जग्गा खरिद गरेका छन् । सबै जग्गा चेक अनादारको मुद्दा दर्तासँगै अदालतले रोक्काको आदेश गरेको छ ।

चेक अनादारमा सम्पति रोक्का

जग्गा नभएको स्थानको पुर्जा विक्री गर्ने रवि रेग्मीले दिएको ३० लाखको चेक विरुद्ध जग्गा खरिद गर्ने निर्मला उप्रेतिले जिल्ला अदालतमा चेक अनादारको मुद्दा दर्ता गरेकी छिन् । मंगलबार जिल्ला अदालतको आदेशले रवि रेग्मिका नाममा रहेका जग्गाहरु रोक्का भएका छन् ।

निर्मला उप्रेतिले खरिद गरेको जग्गा नै नभएको थाहा पाए पछि रविले विश्वास दिलाउन उनिसँग लिएको ३० लाख रकमको चेक दिएका थिए । खातामा पैसा नभएको चेक दिएका रेग्मि लगत्तै पक्राउ परे । उनि हिरासतमा भएका बेला उक्त चेकलाई बाउन्स गराएर उप्रेतिले चेक अनादारको मुद्दा दर्ता गरेकी हुन् ।

रवि संगठित अपराध अन्र्तगतको मुद्दामा छन् । बुधबार ६० दिन पुगेकाले जिल्ला प्रहरी कार्यालयले सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो । जग्गा प्रकरणमा लोभले लाभ र लाभले विलाप गराएको छ ।

प्रतिक्रिया दिनुहोस्